कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका– २, सेढवामा नेपाली कांग्रेसको पार्टी कार्यालयको उद्घाटन एक कार्यक्रमबीच आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश रिजालले गर्नुभएको हो ।नेपाली कांग्रेस वडा इकाइ अध्यक्ष सरोज चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता रमेश पाण्डे, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, वडा नं. ५ का वडा अध्यक्ष दारा सिंह, गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष सोमनाथ सापकोटा, पालिका सदस्य ऋषि हजरा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश रिजालले नेपाली कांग्रेसको पहलमा हुलाकी राजमार्ग, जनता सडक तथा जगरनाथपुर–सुपौली–परसवा हुँदै लाटो माइबाट शंकर सरैयासम्मको कच्ची सडक कालोपत्रे भएको जानकारी दिनुभयो । उहाँले पार्टीले पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएको दाबी गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीले आगामी फागुन २१ गते हुने निर्वाचनमा अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल अत्यन्तै स्वच्छ र योग्य रहेको दाबी गर्दै सबैलाई एकजुट भई उनलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले पार्टी संगठन सुदृढीकरण गर्दै जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।


















