कृष्ण मोहन साह
सेढवा,वीरगन्ज– ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्ने ठुटेखोला पुलको पूर्वपट्टीको सडक बिहीवारबाट संचालनमा आएको छ ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको नेतृत्वले नागरिकका बहुपेक्षित बाटो संचालनमा ल्याएपछि ठोरीबासी अत्यन्तै हर्षित छ्न् । बिहीवार बिहानैदेखि ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ स्वयम् उपस्थित भइ बाटो संचालनमा ल्याउनुभएको हो । उक्त बाटो संचालन नभएका कारण ठोरीका नागरिक तथा ठोरी घुम्न आउने पर्यटकहरुले सास्ती भोग्नु परेको थियो ।
उक्त क्षेत्रको सडक हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कालिका बानियाँ जेभीले बिवादका कारण कार्य पुरा गर्न सकेको थिएन । ठोटेखोलाबाट भारतीय पक्षले सिँचाईको लागि कुलो निर्माण गरी पानी लगेका कारण भारतीय पक्षबाट बारम्बार अवरोधका कारण यस स्थामा विबाद उत्पन्न हुने गर्दै आएको थियो । तर ठोरी गाउँपालिकाको अध्यक्ष श्रेष्ठले भारतीय पक्षका स्थानीय मुखियाहरुसँग निरन्तर सम्पर्क, सहकार्य र समन्वय गरी बाटो संचाल गरिएको बताउनुभयो । आफूलाई पनि बाटो संचालनमा नआउँदाको पीडा थाहा भएकै कारण समास्याको समाधान गरिएको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भारतीय पक्षका धमौरा पंचायतका मुखिया श्यामबिहारीले आफूहरुलाई पानीसंगको मात्र सरोकार रहेकाले नेपाली पक्षले पर्याप्त पानी जाने वातावरण बनाइदिएकाले कुनै गुनासो नरहेको बताउनुभयो ।
पुलको बाटो सिधा नहुँदा र घुमौरो ड्राइभर्सनको बाटो प्रयोग गर्दा ठोरी घुम्न आउने पर्यटकहरुलाई धेरै कठिनाइ हुने गरेको र घुमौरो बाटोमा पर्ने साना काठे अस्थायी पुलले सवारीसाधनमा समेत कठिनाइ रहेको कारण अब उप्रान्त कसैले पनि गुनासो गर्ने ठाउँ नरहेको निर्मलठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताउनुभयो ।
पुल निर्माण भएको ४ वर्षपछि भारतीय पक्षले प्रयोग गर्दै आएको दुईवटा कुलो मध्ये पश्चिमपट्टीको कुलो जनप्रतिनिधि र स्थानीयहरुको पहलमा ड्राइभर्सन बनाई संचालनमा आएको बाटो बिहीवारबाट पुर्णरुपले संचालनमा आएको हो ।
हुलाकी सडकले पुनः टेण्डर गरेपछि सडक मात्र कालोपत्रेको काम हुनेछ । बाटो खुलाउने कार्यमा गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, वडा नम्बर २ र ३ का जनप्रतिनिधिहरु, स्थानीय सामाजिक अगुवाहरुको समेत सक्रिय उपस्थिति रहेको थियो ।