मंसिर ४ आउनका लागि जम्मा दुई दिन छ । गए रातिबाट अब औपचारिक रुपमा प्रचार प्रसारमा रोक लगाइएको छ । अब कुनै पनि उम्मेदवारले निर्वाचन प्रचार प्रसार गर्न पाउने छैनन् । निर्वाचन आउनुभन्दा ४८ घण्टादेखि मौन अवधि शुरु हुन्छ । यो बिश्वब्यापी मान्यता पनि हो । यद्यपि यो अवधिमा धेरै रकमको चलखेल हुने कुरा भने प्रकाशमा आउने गरेको छ । मंसिर ४ गतेको चुनावका लागि पनि मौन अवधिमा कतै मनी अवधि पो शुरु हुने हो कि भन्ने हल्ला छ ।
हुनत उम्मेदवारहरुको यो चुनावमा यो या त्यो कारणले खर्च भएकै छ । चुनाव भनेकै खर्चका लागि हो भन्ने कुरा पनि पछिल्ला दिनमा जवरजस्ती स्थापित गरिदैछ । टोले गुण्डाहरु चुनावको मौकामा कमाउनका लागि अग्रसर हुन्छन् । राम्रै कमाइ पनि उनीहरुले गर्दछन् । यो प्रवृत्तिले वास्तवमा चुनावमा सबैलाई घाटा नै लाग्ने हो तै पनि फेरि रकमको चलखेल छदैछ ।
सबै उम्मेदवारको खर्च नहोला तर जित्छु भनेर लागेको उम्मेदवारको भने खर्च नै देखिन्छ । चुनावमा खर्च गरेर जितेका उम्मेदवारहरुले फेरि असुली नै गर्ने हुन् । यसमा खासै कसैको ध्यान नगएको जस्तो पनि देखिन्छ । चुनाव स्वच्छ हुनुपर्ने तर यसो भएको पाइदैन । अब यो मौन अवधिमा हुने चलखेलमा बिरुद्धमा निर्वाचन आयोग र प्रहरी प्रशासन सचेत हुनुपर्ने भए पनि पार लाग्ने छाँटकाँट भने देखिदैन ।