निजगढ,बाराको निजगढमा विपद् व्यवस्थापन सम्बन्धी आगलागी घटनाको नियन्त्रण, खोज तथा उद्धार कार्यको नमुना अभ्यास भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश क्याम्प निजगढले निजगढ नगरपालिका– ८ खयरघारी मैदानमा शनिवार नमुना अभ्यास गरेको हो ।

आगलागी घटना हुँदा नियन्त्रण, घाइते तथा पीडितको खोज तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सशस्त्रको टोलीले कृतिम नमुना अभ्यास गरेको थियो ।आगलागी नियन्त्रण र प्रभावितलाई उद्धार जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले बताउनुभयो ।

विपद् व्यवस्थापनका क्रममा आगलागी हुँदा प्रहरीलाई तत्काल खबर गर्ने, सशस्त्र प्रहरीको टोलीले घटना स्थलमा पुगेर आगलागी नियन्त्रण गर्ने र घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउने र क्षतिको मुचुल्का तयार पार्नेलगायत नमुना कार्य अभ्यासमा देखाइएको थियो । अभ्यासका क्रममा निजगढ नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रण गर्न र घाईतेहरूलाई अस्पताल पु¥याउन तत्काल चाहिने सवारी साधनहरूको बारेमा जानकारी समेत गराइएको थियो ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले अकस्मात् हुने आगलागीका घटना नियन्त्रणमा यस्तो अभ्यास अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरभित्र भान्सामा खाना पकाउँदा ग्यास चुलोबाट हुनसक्ने आगलागी तथा विभिन्न कारणले हुनसक्ने आगलागी र बस्तीमा लागेको आगलागी कसरी नियन्त्रण गर्ने भन्ने बारेमा प्रत्यक्ष रुपमा अभ्यास गरेर देखाइएकोले यस्तो अभ्यास अत्यन्तै महत्वपूर्ण छ ।’

विशेष गरी सुख्खायाममा वर्षेनी हुने आगलागीका घटना बारा जिल्लामा धनजनको क्षति हुनेगरेको छ । आगलागीका घटना कसरी हुन्छ, घटना घटिसकेपछि उद्धार तथा राहतका प्रक्रिया कसरी गरिन्छ, घटनाको सूचना संकलनदेखि उद्धार, राहत तथा पुनस्र्थापनामा कुनकुन निकायको कस्तो भूमिका रहन्छ, आगलागीका घटनाबाट बच्न व्यक्ति, परिवार तथा समुदायले कसरी सचेतना अपनाउनुपर्छ भन्ने जस्ता विषयबस्तुलाई समेटेर सो अवसरमा सबै क्रियाकलाप प्रत्यक्ष रुपमा प्रदर्शन गरिएको थियो ।सशस्त्र प्रहरीले विपद् व्यवस्थापन समितिमार्फत विपद् कार्यदल गठन गरी उनीहरूलाई विपद्मा परेकाहरुलाई खोजी तथा उद्धार कार्यका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएअनुरूप प्रयोगात्मक कृत्रिम नमुना अभ्यासका लागि आगलागी घटनाको नियन्त्रण, खोज तथा उद्धारको लागि कृतिम नमुना अभ्यास कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश निजगढका सशस्त्र प्रहरी नायव उपरीक्षक श्रीराम कुवरले बताउनुभयो ।कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका सशस्त्र प्रहरी नायव उपरीक्षक कबिराज बस्नेत, निजगढ नगरपालिकाका जनप्रतिनिधि, स्थानियलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here