निजगढ,निजगढ नगरपालिकाका प्रमुख सुरत पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षामा कार्यपालिका सदस्यहरुले लगाएको ताला मंगलवारबाट खुलेको छ ।

कार्यपालिका सदस्य एवंम वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानसहित कार्यपालिकाका सदस्यहरुले मेयर पुरी र उपमेयर थिङ्गको कार्यकक्षमा लगाइएको ताला खोलेका हुन । नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको सरुवा बिवादमा अधिकृतको कार्यकक्षमा ताला लगाइपछि नगरपालिकका बहुमत कार्यपालिका सदस्यहरुले पनि नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गको कार्यकक्षमा तालाबन्दी गरेका थिए । कार्कीलाई नै हाजिर गराउनुपर्ने भन्दै कार्यपालिका सदस्यहरुले एक साताअघि गरेको तालाबन्दी अन्त्य गरेका हुन । नगरप्रमुख पुरीले प्रमु्ख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोलेपछि आफूहरुले पनि तालाबन्दी अन्त्य गरेको वडा अध्यक्ष घलानले बताउनुभयो ।

ताला खोल्नुअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यपालिका १५ जना सदस्यहरुले हस्ताक्षर गरेका पत्र वाचन गर्दै वडा अध्यक्ष घलानले तालाबन्दीले सेवाग्राहीले सास्ति बोहोर्दै आएको र नगरपालिकालाई निरन्तर बन्दी बनाउनु हुदैन भन्ने आफूहरुको मान्यता रहेको बताइएको छ । पत्रमा भनिएको छ– ‘नगर प्रमुख सुरत पुरी ज्यूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालबान्दी गर्ने, डिजिटल हाजिरी मेसिन निकाली आफ्नो कार्य क्षेत्र उल्लङ्गन गर्दै अनाधिकृत व्यक्तिमार्फत कागजी हाजिरी गराउने, कर्मचारीलाई त्रास सृजना गराउदै कार्यालयको सिसिटिभी क्यामेरा बन्द गराइ आफ्नो पार्टी नेकपा एमालेका कार्यकर्तालाई नगरपालिका कार्यालयमा जम्मा गराई मुडभेडको अवस्था सृजना गराउने लगायतका काम भएको र सो बारेमा ध्यानाकर्षण गराउदै आएको र सोही गतिविधिलाई सच्याउनुपर्छ भनेर भनेर नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थियौं ।’

नगर प्रमुखले पुरीले प्रमुख प्रशासकीय अधिकृतको ताला खोलेको, डिजिटल हाजिरी मेसिन पुन संचालनमा ल्याएको, सिसिटिभी क्यामरा संचालन गरिएकोले हामीले तत्कालको लागि ताला खोलेको नगरवासीमा जानकारी गराउँछौैं ।’ पत्रमा अगाडि भनिएको छ ।

गत साउन ११ गते जिल्लाको पचरौता नगरपालिकामा सरुवा हुनुभएका अधिकृत कार्कीले मन्त्रालयको निणर्य उल्टाउदै निजगढमा नै थमैति गरेपछि नगर प्रमुख पुरीले साउन १४ गते अधिकृत कार्कीको कार्यकक्षमा तालाबन्दी गर्न निर्देशन दिनुभएको थियो । कार्कीको पक्षमा रहेका कार्यपालिका बहुमत सदस्यहरुले भने साउन २३ गते नगर प्रमुख पुरी र उपप्रमुख थिङ्ग काठमाण्डौं पुगेको बेला तालाबन्दी गरेका हुन ।

राप्रपा निजगढले तालाबन्दी खोल्न माग गर्दै ज्ञापनपत्र बुझाएको दोस्रो दिनमा नै कार्यपालिका सदस्यहरुले तालाबन्दी खोलेका हुन । तालाबन्दीका कारण नगरपालिकको सेवा ठप्प बन्दै आएको भन्दै राप्रपा निजगढका कार्यकर्ताहरुले नगर प्रमुख, उपपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएको ताला ७२ घण्टाभित्र नखोलिए आफूहरुले फुटाउने चेतावनीसहित नगरपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटाकोलाई गत आइतवार ज्ञापनपत्र बुझाएका थिए ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले प्रमु्ख प्रशासकीय अधिकृत कार्कीलाई फेरि मन्त्रालयमा नै तानेपछि सोमवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला खोलिएको थियो । गत साउन ११ गते निजगढबाट बाराको पचरौता नगरपालिकामा सरुवा हुनुभएका अधिकृत कार्कीलाई संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको साउन १५ गतेको निर्णयअनुसार निजगढमा नै थमैति गरेपछि निजगढ नगरपालिका कार्यालयमा विवाद सुरु भएको थियो ।

अधिकृत कार्कीलाई मन्त्रालयले मन्त्रालयमा काजमा तानेपछि निजगढको विवाद मत्थर हुदै गएको हो । कार्कीको स्थानमा निजगढ आउने अधिकृतको बारेमा हालसम्म मन्त्रालयले कुनै निर्णय गरिसकेको छैन । यसअघि कार्कीको स्थानमा निजगढ सरुवा हुनुभएका मकवानपुरको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई पनि मन्त्रालयमा नै तानिएको छ ।

Leave a Reply