राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।गाउँपालिकाबाट खटाइएका स्वास्थ्यकर्मीहरुले घर–घरमा पुगेर वडाका १ हजार ७ सय ८५ जना ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाएपछि गाउँपालिका सम्पूर्ण वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

‘स्थानिय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ धोबिनी गाउँपालिकामा उक्त कार्यक्रम आयोजना गरिएको थियोे । जिल्ला समन्वय समिति पर्साका सभापती निरंजन साह सोनारको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पूर्ण खोपयुक्त वडा घोषणा गर्नुभएको हो । चौहानले घोषणा पत्र पढेर पूर्ण रुपमा खोपयुक्त वडा र गाउँपालिका घोषणा भएको सबैलाई जानकारी गराउनुभयो ।गाउँपालिका पूर्ण खोप युक्त भएकोमा अध्यक्ष चौहानले स्वास्थ्यकर्मीहरुको कामलाई सरहना गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले आफ्नो परिवारका सदस्यलाई समेत त्यागेर आम जनताको सेवामा दिन रात खटेर सबैको मन जितेको बताउनुभयो ।

‘स्वास्थ्यकर्मीहरुको मेहनत र लगनशीलताका कारण आज हाम्रो गाउँपालिका पूर्ण खोप युक्त वडा घोषणा भएको बताउँदै अध्यक्ष चौहानले गाउँपालिकामा आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषि रहेकोले सबैभन्दा धेरै बजेट र स्रोत त्यसैको पूर्वाधार विकासमा खर्च भइरहेको दाबी गर्नुभयो ।अध्यक्ष चौहानले उच्च शिक्षाको लागि समेत गाउँमा गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षा संस्थाहरू रहेकाले अब शिक्षाको लागि शहर जाने परिपाटी अन्त्य हुने विश्वास पनि व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साहले गाउँपालिकाका महिलाहरुलाई खोपको महत्वका बारे जनचेतना अभिवृद्धि गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । खोप नपाउँदा पाँच वर्षमुनिका बालबालिकाहरुमा विभिन्न किसिमको रोग लाग्ने हुँदा बच्चा जन्मिन बित्तिकै चिकित्सकको सल्लाहा अनुसार प्रत्येक खोप समयमा लगाउनुपर्ने उहाँको सुझाव छ । अधिकृत साहले महिला स्वास्थ्यकर्मी र स्वयं सेविकाहरुको प्रशंसा गर्दै गाउँपालिकालाई पूर्ण खोप युक्त घोषणा गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष मन्जु देवी कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, खोप सुपरभाइजर प्रमुख जयमोद ठाकुर, युनिसेफका रानराज राणा, वडा अध्यक्षहरू अबास मियाँ, मनाउर अहमद, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेली, देबेन्द्र पटेल, कार्यपालिका सदस्यहरू, गाउँपालिका सदस्यहरु, स्वस्थ्य शाखा प्रमुख संजय यादव, स्वास्थ्य शाखा सहसंयोजक श्रीराम यादव, शिक्षा प्रमुख बृजकिसोर त्रिपाठी, योजना शाखा प्रमुख पपु पटेल, जिन्सी प्रमुख प्रदिप पटेल, इन्जिनियर रविभुसन पटेल, लेखापाल धन्जय दास, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।पूर्णखोप घोषणा गराउनमा सहयोग गर्ने स्वास्थ्यकर्मीहरुलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुत दिएका थिए । कार्यक्रम संचालन अशोककुमार पटेलले गर्नुभएको थियो ।

Leave a Reply