सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा सातौं तहका अधिकृत कर्मचारीको तहवृद्धि विवाद सतहमा आएको छ । मधेस प्रदेश सरकारद्धारा जारी स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ बमोजिम तहवृद्धिका लागि आन्तरिकरुपमा माग गर्दै आएका सातौं तहका अधिकृत कर्मचारीको तहवृद्धि विवाद सतहमा आएको हो ।ऐनले निर्देश गरेबमोजिम आठौं तहमा आफूहरुको तहवृद्धि हुनुपर्ने भएपनि उपमहानगरपालिकाले तहवृद्धि गर्न वेवास्था गरेको सातौं तहका अधिकृतले गुनासो गरेका छन् । मधेसका अन्य स्थानीय तहमा कार्यरत सातौं तहका अधिकृत कर्मचारीको आठौं तहमा तहवृद्धि भईरहदा जीतपुरसिमराले भने सोही ऐनलाई गलतरुपमा व्याख्या गरेर आफूहरुमाथि अन्याय गरेको उनिहरुको भनाई छ ।
त्यसो त सोही ऐनलाई टेकेर बरथहवा नगरपालिकाबाट केही दिन अघि आठौं तहका अधिकृत कर्मचारी संजय मैनाली जीतपुरसिमरामा सरुवा भएर आएपछि यहाँ कार्यरत सातौं तहका अधिकृत कर्मचारीको असन्तुष्टी अझै चुलिएको छ । पछि नियुक्ती लिएका कर्मचारी आठौं तहमा तहवृद्धि भएर आउँदा आफूहरु भने सातौं तहमै खुम्चनुपरेको अधिकृत रमेश सुवेदीले गुनासो गर्नुभएको छ ।
सुवेदीका अनुसार मैनालीले २०७६ मंसिर २३ गते छैठौं तहमा नियुक्ति बुझ्नुभएको थियो । मधेस सरकारले जारी गरेको ऐन अनुसार मैनाली सातौं हुँदै आठौं तहमा तहवृद्धि हुनुभएको थियो । मैनाली कार्यरत बरहथवा नगरपालिकाले स्थानीय सेवा (गठन तथा संचालन) ऐन अनुसार तहवृद्धि गरेको हो ।
तर मैनालीभन्दा अघि अर्थात २०७६ मंसिर ११ गते नियक्ति लिएका जीतपुरसिमराका छैठौं तहका अधिकृतहरु अहिले सातौं तहमै सिमित छन् । उनीहरुलाई आठौं तहमा तहवृद्धि गरिएको छैन । सोही ऐनलाई टेकेर ३३औं कार्यपालिका बैठकबाट सातौं तहमा तहवृद्धि गरिएको अधिकृतलाई आठौं तहमा तहवृद्धि गर्न सोही ऐन बाधक बनेको भन्दै रोकिएको छ ।