राजकुमार यादव

मौलापुर,मौलापुर नगरपालिका वडा नम्बर ८ र ९ सोनरनियाको सडक ढलान र नाला निर्माणमा आश्रय निर्माणले चरम अनियमितता गरेको देखिएको छ ।१० करोडको ठेक्का लिएको आश्रयले करबाहेक ४ करोड ७८ लाख ५८ हजार सात सय ६९ रुपैयाँमा सम्झौता गरेर पुर्वमन्त्री प्रभु साहको गृह नगर मौलापुरको सोनरनियामा मनलाग्दी रुपमा काम थालनी गरेको हो ।शहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जद्वारा २०७८ असार २१ गते सम्झौता गरेको आश्रय निर्माणले सम्झौता मितिदेखि २४ महिनाभित्रमा काम सम्पन्न गर्ने जिम्मा लिएको थियो । संझौतामा उल्लेख भएअनुसार दुई तिहाइभन्दा बढी अवधि सकिदा पनि निर्माणको काम भने अहिलेसम्म ३५ प्रतिशत मात्र सम्पन्न भएको छ ।निर्माण कार्यमा भएको लापरवाहीका कारण निर्माण सम्पन्न भएको क्षेत्रको ढलान र नाला भत्कने क्रम सुरु भएको छ । कमसल सामग्री र लापरवाहीका कारण निर्माण पुरा नहुदै ढलान भत्किन थालेको स्थानीयले बताएका छन ।निर्माण अवधि पुरा हुन ६ महिना मात्र बाँकी रहेपछि निर्माण कम्पनीका ठेकेदार राजा गुप्ताले अहिले नालामाथि बिछ्याउने स्ल्याबमा एक भाग सिमेन्ट ३ देखि ५ भाग बालुवा तथा ५ देखि ६ भाग गिटी मिसाएर ढलान गरेको स्थानीयले जानकारी गराएका छन ।सघन सहरी तथा भवन निर्माण कार्यालयका कर्मचारी र आश्रय निर्माणका कर्मचारीको मिलिमतोमा गुणस्तरहिन काम भइरहेको स्थानीयको आरोप छ । विभागकै मेलोमतोमा ठेकेदारले नियमको उल्लंघन गरेर गुणस्तरहीन सडक निर्माण गरिरहेको आरोप स्थानीयवासीको छ ।कठमाण्डौंको बसुन्धारास्थित आश्रय निर्माण सेवाले बिगतदेखि गुणस्तरहिन काम गर्दै आएको बारेमा विभिन्न संचारमाध्यमहरुमा समाचार सार्वजनिक भए पनि सरोकारवाला निकायले आवश्यक कारबाहीको लागि कुनै चासो देखाएको छैन ।टेन्डरमा उल्लेख गरिएबमोजिम काम नहुँदा स्थानीयले भवन निर्माण कार्यालयका इन्जियर र सहरी विकास तथा भवन निर्माण विभागलाई समेत पटक पटक जानकारी गराउदै आएको भए पनि ठेकेदारसंगको मिलिमतोमा कर्मचारीहरु मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

Leave a Reply