काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्तालाई पार्टीको विधानविपरीत गतिविधि नगर्न चेतावनी दिएका छन्। पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीको सदस्यता लिने वा राजनीतिक गतिविधिमा संलग्न हुनेलाई विधानअनुसार कारबाही गरिने उनले स्पष्ट पारेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने बताएका हुन्।

देउवा पक्षबाट भइरहेको छुट्टै राजनीतिक गतिविधितर्फ संकेत गर्दै उनले त्यस्ता गतिविधि रोक्न आग्रह गरे। राष्ट्रिय सभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई लक्षित गर्दै उनले पार्टीको विधान पालना गर्नुपर्ने बताएका छन्।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको छ र अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ थापाले भने, ‘हिजो विशेष महाधिवेशनमा सहभागी हुनुभयो वा हुनुभएन भन्ने कुरा होइन। कांग्रेसको सदस्य भएर अर्को पार्टीको चुनावमा जानुभयो भने पार्टीको विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो।’

उनले पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउने प्रयास जारी रहेको पनि बताए। अहिलेसम्म सबै पक्षलाई समेट्दै अघि बढेको उल्लेख गर्दै उनले त्यसको पनि निश्चित सीमा हुने स्पष्ट पारे।

‘अहिले यहाँ भइरहेको कांग्रेसको अधिवेशन हुँदै होइन। एउटै पार्टीका दुईवटा अधिवेशन हुँदैनन्,’ देउवा पक्षको गतिविधिप्रति लक्षित गर्दै उनले भने, ‘एकपछि अर्को गर्दै साथीहरूको कुरा सुन्दै र जोड्दै यहाँसम्म आइपुगेको हो। अझै पनि सबैलाई जोड्ने प्रयास गर्छु। तर यसको एउटा सीमा हुन्छ।’

कांग्रेसको सदस्य रहेर अर्को पार्टीको सदस्यता लिने वा फरक राजनीतिक गतिविधिमा संलग्न हुने विषयमा पार्टी विधान स्पष्ट रहेको उनको भनाइ थियो।

थापाको अभिव्यक्तिले कांग्रेसभित्र देउवा र थापा पक्षबीचको विवाद थप चर्चामा आएको छ। उनले पार्टीभित्रको असन्तुष्टि समाधानका लागि संवाद र एकताको प्रयास जारी राख्ने तर विधानविपरीत गतिविधिमा संलग्नलाई छुट नदिने संकेत गरेका छन्।

Leave a Reply