काठमाडौं । ईनम सापकोटाकी पत्नी कविता पाण्डेसँग प्रहरीले आर्थिक कारोबारसम्बन्धी विषयमा सोधपुछ गरी घटना विवरण कागज गराएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्क देखिएपछि पक्राउ परेका सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

प्रहरीले सापकोटामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा पाण्डेलाई गत साता प्रहरी कार्यालयमा उपस्थित गराएर बयान तथा घटना विवरण कागज गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।

अनुसन्धानका क्रममा सापकोटाको मोबाइल परीक्षण गर्दा एक व्यक्तिलाई आफ्नी पत्नी कविताको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गरेको सन्देश फेला परेको थियो।

उनले सानिमा बैंकमा रहेको पत्नीको खाता नम्बर पठाउँदै उक्त खातामा ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन आग्रह गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ।

मोबाइलमा भेटिएको उक्त सन्देश र सम्भावित आर्थिक कारोबारबारे जानकारी लिन अनुसन्धान अधिकृतहरूले पाण्डेसँग सोधपुछ गरेका थिए। सोही क्रममा उनको घटना विवरण कागज गराइएको प्रहरीले जनाएको छ।

यसैबीच, सापकोटासँग सम्पर्क देखिएका अन्य व्यक्तिहरूमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सापकोटासँग जोडिएका आर्थिक कारोबार र विभिन्न प्रभावशाली व्यक्तिहरूसँगको सम्पर्कबारे प्रहरीले अनुसन्धान विस्तार गरिरहेको छ।

Leave a Reply