काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा ठूलो रकम असुली गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई मंगलबार थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको हो।
मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा बायोमेडिकल सेवा शुल्क असुल गरिएको घटनामा उनीहरू पक्राउ परेका हुन्। म्याक्रोटेक प्रालिले मेडिकल स्क्रिनिङका नाममा कामदारलाई अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर रकम संकलन गरेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानअनुसार उक्त कम्पनीले कामदारबाट असुल गरेको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चारपटक मन्त्रीस्तरीय निर्णय भएको थियो। ती निर्णय तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएको पाइएको छ। स्वास्थ्य परीक्षणका लागि काठमाडौंका ३६ वटा मेडिकल संस्थालाई तोकिएको थियो।
को–को परे प्रहरीको अनुसन्धानमा ?
यस प्रकरणमा सुरुमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका थिए।
त्यसपछि मंसिर २ गते पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित थप ६ जना पक्राउ परेका थिए।
पक्राउ पर्ने अन्य व्यक्तिमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ रहेका छन्।
प्रतिव्यक्ति १०० रिङ्गिट असुली
प्रहरीका अनुसार आरोपीहरूले २०७५ सालको अन्त्यदेखि मलेसिया जाने नेपाली कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिटका दरले रकम असुल्दै आएका थिए। त्यसबेलाको विनिमय दरअनुसार उक्त रकम नेपाली करिब ३ हजार १६० रुपैयाँ हुन्थ्यो।
कामदारलाई अनिवार्य गरिएको अतिरिक्त स्वास्थ्य परीक्षणका नाममा संकलित रकम गैरकानुनी रूपमा उठाइएको आरोप छ।
यस प्रकरणमा सीआईबीले आरोपीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ। अदालतबाट म्याद थप भएसँगै प्रहरीले आर्थिक कारोबार, मन्त्रीस्तरीय निर्णय र रकम विदेश पठाइएको प्रक्रियाबारे थप अनुसन्धान अघि बढाउने भएको छ।
















