सिमरा,बारा क्षेत्र नम्बर. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका इच्छाबहादुर वाग्लेको पक्षमा जनमत देखिन थालेको छ । उम्मेदवारी दर्तासंगै चुनावी अभियान अघि बढाउनुभएका स्वतन्त्र उम्मेदवार वाग्लेको पक्षमा जनमत बढ्न थालेको हो ।

सत्ता गठबन्धनको भागबण्डामा सो निर्वाचन क्षेत्र एकिकृत समाजवादीको भागमा परेपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसका नेता वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । कांग्रेसले जित्न सक्ने निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताको भावना विपरित जनाधार नै नभएको पार्टीलाई टिकट दिएको र कांग्रेसलाई उम्मेदवारविहिन बनाएको भन्दै वाग्लेले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । गठबन्धनको भागबण्डाका कारण आगामी आम निर्वाचनमा कांग्रेस बारा क्षेत्र नंम्बर ४ मा उम्मेदवारविहिन अवस्थामा छ । प्रतिनिधि सभामा समाजवादीका कृष्णकुमार श्रेष्ठ उम्मेदवार बन्नुभएको छ भने प्रदेश सभा क बाट माओवादीका अनिल श्रेष्ठ र ख बाट लोसपाका जितेन्द्र सोनलले उम्मेदवारी दिनुभएको छ ।

यसअघि गत बैशाखमा भएको स्थानीय निर्वाचनमा पनि गठबन्धनमा चुनाव लगेको कांग्रेशले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा पराजय भोगेको थियो । गठबन्धनबाट माओवादीको भागमा परेको मेयरमा राजन पौडेलले नगर प्रमुख पदमा विजयी बने पनि उपप्रमुख पदमा कांग्रेस उम्मेदवार मेघा शाही पराजित भएपछि कांग्रेस नेता कायर्कर्ता असन्तुष्ट छन् ।

२०७४ सालको निर्वाचनमा एक्लै लडेको कांग्रेस त्यतिबेला झिनु मतान्तरमा पराजित बने पनि यसपटक भने गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएको थियो । तर निर्वाचनको नतिजा भने कांग्रेसको पक्षमा आउन सकेन । प्रतिनिधिसभामा कमजोर जनमत रहेको एकिकृत समाजवादीले टिकट पाँउदै गर्दा कांग्रेसले प्रदेशसभाका २ सिट मध्ये एउटामा पनि टिकट प्राप्त गर्न सकेन । कांग्रेसलाई प्रयोग गरेर अन्य पार्टी बलियो हुने र कांग्रेसको जनमत कमजोर बनाउने षडयन्त्र भएको भन्दै कांग्रेसका कार्यकर्ता रुष्ट देखिएका छन् ।

क्षेत्र नम्बर ४ मा कांग्रेशको जनमत जोगाउन असन्तुष्ट कांग्रेस कार्यकर्ताहरु यसपटक वाग्लेलाई मतदान गर्ने पक्षमा रहेको कांग्रेसका एक कार्यकर्ताले बताए । कांग्रेसभित्र देखिएको असन्तुष्टिको सिधा फाइदा नेकपा एमाले र जसपाका उम्मेदवारलाई पुग्ने देखिएको छ । एमालेले सो क्षेत्रमा हालैमात्र लोसपा परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएका इकवाल मियालाई उम्मदवार बनाएको छ । क्षेत्र नम्बर ४ को क मा भने एमालेको तर्फबाट देवनारायण चौधरी चुनावी मैदानमा हुनुहुन्छ भने प्रदेश सभा ख मा जसपाका उम्मेदवारलाई एमालेले समर्थन गरेको छ ।

Leave a Reply