निजगढ,निजगढ ३ स्थित टाँसिधार्गेलीङ बौद्ध गुम्बामा मंगलवारबाट रात्री मेला लाग्ने भएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गरेपछि बेलुका ६ बजेबाट मेला शुरु हुने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) ले जानकारी दिनुभएको छ ।मेलामा स्टल बुकिङ्गलगायत तयारीको काम पूरा भएको उहाँले बताउनुभयो । गत वर्ष झै यस वर्ष पनि राष्ट्रिय स्तरका कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष जिम्बाको भनाई छ । मेलामा मनोरंजन र खेल सामग्रीको पनि प्रबन्ध गरिएको उहाँले जानकारी दिनुभयो ।
मेला संचालन गर्न समितिले जिल्ला प्रशासन कार्यालय बाराबाट अनुमतिसमेत प्राप्त गरिसकेको र जिल्ला प्रशासन कार्यालय बाराको पत्रअनुसार शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न इलाका प्रहरी कार्यालय निजगढले मेलामा ७ जना सुरक्षाकर्मी परिचालन गर्ने इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताउनुभयो ।तामाङ्ग समुदायका श्रद्धालुहरुले मृतक आफन्तहरुको संझनामा बत्ति बाल्ने र सोही अवसरमा गुम्बा परिसरमा ५ दिनसम्म मेला लगाउने चलन छ ।त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर १३ को शक्ति खोलास्थित शक्तेश्वर महादेव मन्दिरमा पनि मंगलवार राति मेला लाग्ने भएको छ ।मेलाको सबै तयारी पूरा भएको स्थानीय उमेश घलानले जानकारी दिनुभयो । मेलामा श्रद्धालुहरुले भगवान विष्णुलाई खुसी पार्न भन्दै मन्दिर परिसरमा तोरण तानेर शक्ति खोलमा फूल र माला बगाउने गर्छन ।
यसैबीच निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिसरमा लाग्ने बालाचतुर्थी मेला भने यस वर्षको अनिश्चित बनेको छ ।
हरेक वर्ष बालाचतुर्थीको अवसर पारेर ३ दिनसम्म लाग्ने मेला लगाउने बारेमा यस वर्ष कुनै निर्णय नभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो । उहाँले मेला व्यवस्थापन कार्य खर्चिलो र झण्झटिलो भएको भन्दै मेला लगाउने वा नलगाउने बारेमा अझैसम्म कुनै निर्णय भइनसकेको जानकारी दिनुभयो । उहाँले समिति र अन्य सरोकारवालाहरुसंग छलफल गरेर यस विषयमा निर्णय लिइने पनि बताउनुभएको छ ।मेला समितिका पूर्वअध्यक्ष नवराज मैनालीले पनि यो वर्ष मेला अनिश्चित भएकाले मेलाको तयारी शुरु नभएको बताउनुभएको छ । उहाँले सोही समयमा बरियारपुरमा पञ्चवर्षिय गढीमाई मेलाको बली परेकोले मेला अनिश्चि भएको सुनाउनुभयो ।यस वर्ष आगामी मंसिर १५ गते बालाचतुर्थी औसीको तिथी परेको छ । मेलामा श्रद्धालुहरुले मृतक आफन्तको संझनामा रातभर जाग्राम बसेर बत्ति बाल्ने गर्दछन ।


















