सिमरा,
बारा र पर्साका उपभोक्ताहरू अनियमित रुपमा हुदै आएको विद्युत् कटौति र कम भोल्टेजको समस्याले आजित भएका छन् ।

चर्को गर्मीकाबीच विद्युत् कटौती र कम भोल्टेजको समस्या भोग्नु परेको स्थानीयले गुनासो गरेका हुन् । तुलनात्मक रूपमा वीरगन्ज क्षेत्रमा भन्दा बारा, पर्साको ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिने गरेको छ । मुलुक लोडसेडिङ्ग मुक्त घोषणा गरिए पनि त्यस्तो अनुभूति गर्न नपाइएको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का दिपक सर्राफले बताउँनुभयो ।

छिनछिनमै विद्युत् जाने र रातभरि नआउने समस्या बढेपछि वीरगन्ज लगायत ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाहरू आक्रोशित भएका छन् । पटक पटक बिजुली जाने गरेको सम्बन्धमा हेटौंडा ग्रिड महाशाखा अन्तरर्गतको वीरगन्ज सव स्टेसनका कर्मचारी आनन्द उपाध्यायले सिस्टम गएको कारण माथिबाटै समस्या भएको बताउनुभयो । उहाँले बारा, पर्सामा ९ वटा फिडर रहेको र केबुल हिट भएर केही समय लाइन जाने गरेको बताउनुभयो ।

वीरगन्जका उपभोक्ताहरूले भने बिजुली एउटा फिडरमा आउने र अर्को फिडरमा जाने गरेको भन्दै प्राधिकरणले अघोषित लोडसेडिङ गरेको आरोप लगाएका छन् । बारा, पर्सा जिल्लामा केही दिनदेखि पटक–पटक विद्युत् आउने र जाने समस्या हुँदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ ।

Leave a Reply