वीरगन्ज, ०१ कार्तिक । पर्साको कालिकामाई गाउँपालिकाले गरेको काम देखेर अहिले सो क्षेत्रका बासिन्दाहरू छक्क परेका छन् ।
पोखरियादेखि मिर्जापुर जोड्ने ‘सिङ्गल लेन’ सडकको बीच भागमा खाल्टो खनी टावर लाइट जडान कार्य शुरू गरेकोमा अहिले चौतर्फी आलोचना भइरहेको छ ।

सिङ्गल लेन सडकको बीच भागमा टावर लाइट जडान गर्दा दैनिक दुर्घटना हुने निश्चित छ । बीच भागबाट उत्तर–दक्षिणतर्फ दुई मिटर मात्र सडक रहन्छ तर सो सडक भएर दैनिक ठूलाठूला सवारीहरू कसरी आवतजावत गर्छन्, लङ्गडी निवासी राजकुमार गुप्ताको भनाइ छ ।

सो सडक भएर अहिले २० भन्दा बढी रात्रिबस तथा दजनौं ट्रक, टिपर आवतजावत गर्छन् । बीच सडक नै बिगारेर विकासको नाममा विनाश कार्य भइरहेको सोही गाउँका बासिन्दाहरूको आरोप छ ।

जसपाबाट निर्वाचित गापा अध्यक्ष वशिष्टनारायण कलवारले वडाको बजेटबाट सो टावर लाइट जडान भइरहेको बताए । स्थानीयहरूको आग्रहमा नै सडकको बीच भागमा टावर लाइट जडान भइरहेको उनले बताए ।

तर टावर लाइट जडान हुने ठाउँको दुवैतिर बस्ती छ । त्यहाँ सडक चौडा गर्दा पछि विवाद हुने सम्भावना पनि रहेको गाउँलेहरूको भनाइ छ ।

अध्यक्ष कलवारले पछिल्लो समयमा बजेट तर्जुमा गर्दा करोडौं रुपियाँ बराबरको सामान खरीद गर्नेगरी बजेट ल्याउन खोज्दा कुटाकुटको अवस्था पनि आएको थियो । त्यहाँ लामो समयपछि विवाद सुल्झिएको थियो । (साभार ः प्रतीक)

Leave a Reply