निजगढ,बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी मंसिर ४ गतेको निर्वाचनबाट नेकपा एमालेको सरकार गठन हुनुपर्ने बताउनुभएको छ ।
निजगढमा आइतवार आयोजना भएको एमाले बारा क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बैठकमा बोल्दै एमाले उम्मेदवार मैनालीले सो कुरा बताउनुभएको हो । नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत रहनुभएका मैनालीले गठबन्धन सरकारले दलाल पूजीपति वर्गको हितमा काम गरेको आरोप लगाउदै चालू आर्थिक वर्षको बजेटसमेत उनीहरकै निर्देशनमा तयार पारिएको बताउनुभयो ।
‘अहिले दलाल र बिचौलियाहरु हाबी बनेका छन, मैनाली भन्नुभयो, यस्तो अवस्थामा देशको उन्नति र प्रगति हुन सक्दैन ।’ उहाँले सरकारमा नै बिचौलियाहरुको हालिमुहाली चलेको देश र जनताको बेहाल भएको पनि बताउनुभयो । सरकार आफ्नो कुर्सी बचाउने खेलमा मात्रै लागेको भन्दै देशको उन्नति र प्रगति गर्न एमालेको सरकार बन्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढनुपर्ने पनि बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले केही कमिकमजोरीका बाबजुद एमाले देशको सबै भन्दा असल पार्टी रहेको बताउनुभएको छ । ‘कमिकमजोरी र त्रुटी नभएको कुनै व्यक्ति र दल हुदैन, उहाँले भन्नुभयो तर तुलनात्मक रुपमा हेर्दा हाल देशमा एमाले सबैभन्दा जनमुखी र अग्रगामी पार्टी हो ।’ उहाँले जनताले पनि यो कुरा मनन गर्नुपर्ने र आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउनुपर्ने बताउनुभयो ।
उहाँले पनि देश टाट पल्टिने अवस्थमा पुगेको भन्दै अहिले बैङ्कहरु किसानलाई भैसी किन्न ऋण दिने अवस्थामा पनि नभएको बताउनुभयो । नेता पौडेलेले गठबन्धन सरकारको रबैयाले नै देशको आर्थिक अवस्था चौपट भएको बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकार हुदासम्म देशमा १२ अर्ब डलर संचिति रहेकोमा अहिले ६ अर्बमा झरेको पनि बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधि सभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी लगायतले बोल्नुभएको थियो ।
नेकपा एमाले क्षेत्रीय कमिटी अध्यक्ष भरत भण्डारीको अध्यक्षतामा भएको बैठकमा निजगढ नगर कमिटी सचिव तिलक घलानले स्वागत मन्तव्य र कार्यक्रमको संचालन एमाले जिल्ला कमिटी सदस्य रामकृष्ण घिमिरेले गर्नुभएको थियो । बैठकमा आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउन पार्टीले खेल्नुपर्ने भुमिकाको बारेमा छलफल गरेर विभिन्न निर्णय गरिएको छ ।