निजगढ,निजगढ नगरपालिकामा क्षय रोगका १८ जना बिरामी फेला परेका छन ।नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोगका बिरामीको पहिचान गर्ने उद्देश्यले निजगढ, भरतगंजसिगौल र रतनपुरीमा आयोजना गरेको शिवीरमा क्षयरोगको लक्षण देखिएका थप ४० जनाको पहिचान भएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले दिएको जानकारीअनुसार रतनपुरीमा १०, भरतगंजसिगौलमा २ र निजगढमा ६ गरी क्षय रोगका १८ जना बिरामी फेला परेका हुन ।
३ वटै क्लस्टरमा क्षय रोगको लक्षण देखिएका र गम्भीर प्रकृतिको आशंका गरिएका थप ४० जनाको पहिचान गरिएको पनि उहाँले जानकारी दिनुभयो । शंकास्पदहरुमा रोग नलागेको पनि हुनसक्ने वा क्षय रोग संक्रमण भइसकेको हुनसक्ने पनि बताउनुभयो । उहाँले शंकास्पदहरुको खकार संकलन गरेर परीक्षणको लागि आइतवार प्रादेशिक अस्पताल कलैयामा पठाइएको पनि जानकारी दिनुभयो ।‘शंकास्पदमध्ये केहीमा औषधि प्रतिरोधी क्षयरोग पनि हुसक्छ, घिमिेरले भन्नुभयो, थप परीक्षणपछि मात्रै रोगको यकिन गर्नसकिने छ ।’ थप परीक्षणको लागि उनीहरुको पुनः खकार संकलन गरेर कलैया अस्पतालमा नमुना पठाइएको जानकारी दिनुभयो ।क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले गत माघ ३ गतेदेखि माघ ५ गतेसम्म निजगढको रतनपुरी, भरतगंजसिगौल र निजगढमा शिवीर संचालन गरेको थियो । शिवीरमा ४८७ जनाको स्क्रीनिङ मेसिनबाट क्षय रोग परीक्षण गरिएको थियो ।

















