निजगढ,पूर्वपश्चिम राजमार्गअन्तर्गत बारा जिल्लामा रहेका अधिकांश पुलहरु जीर्ण बनेपछि सवारी र ढुवानीका साधन दुर्घटनाको जोखिम बढेको छ ।

पुर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पसाह, दुधौरा र बालगंगा नदीका पुल मर्मतको अभाव जिर्ण बनेका हुन । नयाँ निर्माण गर्न चार वर्षअघि ठेक्का लागेको दुधौरा पुल अझै अधुरो रहेको छ भने मर्मतको लागि डेढ वर्षअघि ठेक्का लागेको पसाह र बालगंगामा अझै पनि मर्मत कार्य सुरु भएको छैन ।

ठेक्का लागेको तीन वर्षमा निर्माण भइसक्नुपर्ने सम्झौता भए पनि राजमार्गको दुधौरा पुलमा हालसम्म ३० प्रतिशत मात्र काम पुरा भएको हो । दुधौरा पुलको पिलर भासिएपछि ४ लेनको नयाँ पुल बनाउन पुल सेक्टर नम्बर २ आयोजनाले २०७५ असारमा ठेक्का लगाएको थियो । यसअघि भासिएको पुलको रेक्ट्रोफिटिङ्ग गरेको १ वर्षमा नै पुनः भाँसिएपछि नयाँ निर्माण गर्न सडक डिभिजन कार्यालय हेटौडाले ठेक्का लगाएको थियो । महादेव खिम्ती हिराचन जेभी काठमाडौंले २ स्पानको ९० मिटर पुल बनाउन १७ करोड २२ लाखमा ठेक्का सकारेको थियो । पटकपटक भाँसिने समस्याले गर्दा आयोजनाले दुधौरा खोलामा ४ लेनको नयाँ पुल निर्माण गर्न ठेक्का लगाएको हो ।

आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार ४ वर्षमा २ वटा जग मात्र ठड्याइएको छ । आयोजनाले पटकपटक ताकेता गर्दै आएका भए पनि ठेकेदारको हेलचेक्र्याइँले पुल बन्न नसकेको उहाँले बताउनुभयो । ताकेता गर्दा म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिएको उहाँले बताउनुभयो । निवेदनसँगै आउँदो २०८० असारभित्र निर्माण सक्ने लिखित प्रतिबद्धता गरेको बताउँदै उहाँले कोभिडले निर्माण सामग्रीको अभावसँगै महँगीले काम गर्न नसकेको कारण देखाएको बताउनुभयो ।

समयमै पुलको निर्माण कार्य पुरा नहुँदा डाइभर्सनबाट सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन । ५० वर्षअघि निर्माण गरिएको पुलको पिलर भासिएपछि नयाँ पुल बनाउन थालिएको हो । ट्राफिक कार्यालय पथलैयाका अनुसार उक्त राजमार्ग भएर दैनिक दुई हजारभन्दा बढी गाडी गुड्ने गरेको छ ।

त्यसैगरी जीर्ण भएर सवारी र ढुवानीका साधन आवागमनमा समस्या भएपछि राजमार्गको पसाह र बालगंगा पुल मर्मतको लागि ठेक्का लागेको एक वर्ष पुरा भइसक्दा अझै पनि मर्मत कार्य सुरु हुन सकेको छैन । न्यु टेक्टिकल वाटर प्रुफिङ्ग एण्ड इन्फा रिह्याबिटेशन कम्पनीले गत असार मसान्तभित्र पुरा गर्ने गरी राजमार्गका पसाह र बालगंगासहित बकैया पुल मर्मत गर्ने ठेक्का लिएको भए पनि बकैया बाहेक अन्य पुलको अझै पनि काम सुरु नगरेको हो । बकैया पुलको भने कम्पनीले गत बैशाख महिनामा मर्मत कार्य पुरा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here