सेढवा,छिपहरमाई युवा समाजको पहल एवम् समन्वयमा सानो पाइलाले छिपहरमाई गाउँपालिकाका ४५ बाढी पिडितलाई सोमबार राहत वितरण गरेको छ ।
पर्सा जिल्लामा लगातार ३ दिनसम्म परेको अविरल वर्षाका कारण छिपहरमाई गाउँपालिकामा आएको बाढी र डुबानबाट पिडित र आफ्नो घर गुमाएका ४५ परिवारलाई राहत वितरण गरिएको हो । डुबानमा परेका पिडितहरुका लागि गाउँपालिकाले केहि नगरेपछि युवा समाजको पहलमा सानो पाइलाबाट राहत उपलब्ध गराइएको स्थानीय अशोक कुशवाहले जानकारी दिनुभयो । युवा समाजले गाउँपालिकाको मिर्जापुर, भेडीहरवा, जयमंगलापुर, तुलसी बारवा, भिस्वा लगायतका गाउँका पिडितहरुलाई राहत स्वरूप चामल, दाल, नून, तेल, सोयाबीन, चना, चीउरा, भुजिया, चाउचाउ, आलू, प्याज, बिस्कुट लगायत सामग्री वितरण गरेको कुशवाहले बताउनुभयो ।