नरेश गुप्ता

बरियारपुर,छठघाटमा पडका पडकाएको निहुँमा श्रद्धालुहरुमाथि कुटपिट भएपछि तनावग्रस्त देखिएको कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरवारीमा सुरक्षा व्यवस्था कायम गर्न प्रहरी परिचान गरिएको छ । घटनाले साम्प्रदायिक विवादको रुप लिन नपाओस भनेर जिल्ला प्रहरी कार्यालय बाराले इनरवारी क्षेत्रमा २४सैं घण्टा निगरानी गर्ने गरी प्रहरी टोली खटाएको हो ।

घटनापछि प्रमुख जिल्ला अधिकारी कटुवालले शुक्रवार सो क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको थियो । थप झडप र विवाद हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घटनास्थलमा परिचालन गरिएको प्रजिअ कटुवालले जानकारी दिनुभयो । उहाँले स्थानीयसंग आपसी भाइचारा र सदभाव बनाइ राख्न अनुरोध गर्नुको साथै घटनामा दोषि देखिएकालाई कारबाहीको दायरामा ल्याउने पनि बताउनुभएको छ । प्रहरीले नाजिर मिया हुसेनलाई नियन्त्रणमा लिएर घटनाको अनसन्धान शुरु गरेको पनि बताएको छ ।

घटनाको विरोधमा शुक्रबार कलैयामा स्थानीयको एक समुहले प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले दोषिमाथि कारबाहीको माग गर्दै कलैया वीरगन्ज सडक खण्डमा १ घण्टा चक्का जाम पनि गरेका थिए । ईनरबारीस्थित छठ घाटमा पडका पडाकाएको निहुाँमा स्थानीय केहीले छठका श्रद्धालुहरुमाथि कुटपिट गर्र्दा वर्ष १७ का स्थानीय राधेश्याम पटेल, सुमन साह, बोलबम साह कानु लगायत घाइते भएका थिए । घाइतेहरुमा राधेश्याम पटेलको टाउकोमा गम्भीर चोट लागेकोले उनको अवस्था गम्भीर रहेको परिवारिक श्रोतले जनाएको छ । घाइते पटेलको न्युरो अस्पताल वीरगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कुटपिटपछि आक्रोशित बनेको अर्को समुहको भिडले स्थानीय बक्कसिस मिया हुसेनको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

छठघाटमा आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै एउटा पक्षले कलैयामा प्रदर्शन गरेको हो । छठघाट नजिकको घरमा हृदयघातको बिरामी रहेकोले पडका र डिजे रोक्न भन्दै पुगेका मुस्लिम समुदायका केही मानिसहरुले छठ मनाइ रहेका श्रद्धालुहरुमाथि आक्रमण गरेको उनीहरुको आरोप छ । प्रदर्शनपछि स्थानीयले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई पनि घटना बारे जानकारी गराएका थिए । प्रजिअ कटुवालले घटनाको छानबिन गरी दोषि देखिए कारबाही गर्ने आश्वासन दिनुभएको स्थानीय सुरेन्द्र पटेलले जानकारी दिनुभयो ।

हिन्दू समुदायकका केही व्यक्तिहरुले ‘जय श्री राम’ नारा लगाउदै मिया हुसेनको पक्की घर, शौचालय, भान्छा घर, मोटरसाइकललगायत तोडफोड गरेका छन । मियाकी बुहारी रुक्सना खातुन हृदयघात रोगबाट पिडीत रहेकी र डिजे तथा पडकाको आवाजले घरमा मुर्छित बनेको भन्दै बक्कसिसका छोरा नाजिर मिया हुसेन पडका र डिजे साउन्ड बन्द गराउन छठघाटमा पुगेपछि दुबै पक्षबीच शुरु भएको विवाद झडपमा परिणत भएको थियो । स्थानीय अब्दुलाह ठकुराई, आँसु ठकुराइ, लालबाबु ठकुराई लगायतको समुहले आफूहरुमाथि आक्रमण गरेर घाइते बनाएको उनीहरुको आरोप छ ।

Leave a Reply