निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित धियालटोलमा सोमवार दिउसो बेवारिसे अवस्थामा सालको १४ घनफिट बराबरको ३ थान गोलिया काठ बरामद भएको छ ।
बस्तिबाट जनसृजनशील सामुदायिक वन क्षेत्रमा पर्ने जंगलतर्फ जाने भमरा खोला सडकको ओरालोमा बेवारिसे अवस्थामा काठ बरामद भएको वन उपभोक्ता समुहका अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो । घाँस दाउरा गर्न जंगल गएका स्थानीयले काठ देखेपछि वन समुहका अध्यक्ष थापालाई जानकारी गराएका थिए ।
काठ भेटिएको स्थानमा जिपको टायरको डोब र धानको भुससमेत देखिएकोले बाहिरबाट ल्याइएको सो काठ लुकाएको हुनसक्ने अध्यक्ष थापाको आशंका छ । अध्यक्ष थापाका अनुसार सामुयायिक वन क्षेत्रभन्दा बाहिरबाट तस्करी गरेर ल्याइएको सो काठ कुनै कारणले यहाँ लुकाएर राखिएको हुनसक्छ । स्थानीयले पनि आइतवार राति सो क्षेत्रमा एउटा जीप आएको र सोही जीपमा ल्याइएको काठ झारेर गरेको हुनसक्ने बताएका छन । बरामद काठ वन समुहको कार्यालयमा ल्याएर राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

















