गोकुल घोरसाइने

निजगढ,वन क्षेत्रबाट विद्युत प्रशारणको लाईन निर्माण हुँदा वन विनास भयो भनेर धेरैले चिन्त र चासो व्यक्त गर्ने गरेको पाइएको छ । तर, बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनहित सामुदायिक वन उपभोक्ता समुहले भने बिजुलीको ट्रान्समिशन पोल निर्माण गर्दा फडानी भएको क्षेत्रमा वृक्षारोपण र इको पार्क निर्माण गरेर वन संरक्षणको उदाहरण पेस गरेको छ ।

इको पार्क निर्माण र वृक्षारोपणसंगै २ वर्षअघि उजाडिएको सो क्षेत्रको वनमा यतिबेला हरियाली फर्किएको छ ।

हेटौडा– ढल्केबगर ४०० केभी प्रशारण लाईन निर्माण गर्दा नेपाल विद्युत प्राधिकरणले फडानी गरेको वन क्षेत्रमा डिभिजन वनकार्यालय बाराको सहयोगमा जनहित सामुदायिक वन समुहले इको पार्क निर्माण र डाँले घाँसका विरुवा रोपेर वन संरक्षण गर्दै आएको हो । प्रधिकरणको हाइटेन्शन लाइनमुनि परेका रुख फडानी गरेपछि सो क्षेत्र उजाडिएको थियो ।

प्रशारणलाइन निर्माण गर्ने क्रममा वन समुहको ८ हजार हेक्टर क्षेत्रबाट करिव १४ हजार क्वीफिट काठ बराबर १ हजार ६ हरिया रुख काटिएका थिए । वन समुहको ४ किमी लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रका सबै रुख र बुट्यान पनि काटिएको समुकी अध्यक्ष चन्द्रिका पुलामी मगरले बताउनुभयो । ‘लहलहाउदा रुखहरु काटिएपछि वन उजाड बनेको थियो, अध्यक्ष पुलामीले भन्नुभयो, तर उपभोक्ताको प्रयासमा वृक्षारोपण गरिएपछि वनमा फेरि हरियाली फर्किदै छ ।’

समुहले डिभिजन वन कार्यालयको सहयोगमा हाइटेन्शन लाइनमुनिको क्षेत्रमा ६ महिनाअघि मलेशियन साल, बडहर, अर्जुन फूल, सरिफा, डाँले घाँसलगायत १८ हजार बिरुवा रोपेको हो । ‘नयाँ रोपिएका बिरुवाहरु पनि हुर्कदैछन, समुहकी अध्यक्ष पुलामीले भन्नुभयो, २÷४ वर्षपछि पुरानै हैसियतमा वन फर्किनेछ ।’ वृक्षारोपण क्षेत्रको संरक्षण गरेर हाइटेन्शनमुनिको जमिनलाई हराभरा पार्ने वन समुहको योजना रहेको पनि उहाँले सुनाउनुभयो । १० हेक्टर क्षेत्रको डाले घाँसको संरक्षणमा भने वन उपभोक्ता आफै सक्रिय हुदै आएकाछन । समुहका ७० जना पशुपालक किसान उपभोक्ताहरुले घाँसको संरक्षण र प्रयोग गर्दै आएका हुन ।

हाइटेन्शनमुनिे खाली जमिनमा निर्माण गरिएको इको पार्कभित्र पनि आँप, लिची जस्ता फल र विभिन्न रंगीचङ्गी फूलका बिरुवा रोपिएका छन । करिव डेढ हेक्टर क्षेत्रमा फैलिएको सो पार्कमा बुद्धको आकर्षक मूर्तिसंगै खानेपानीको धारा, शौचालय र पक्की टहराको पनि निर्माण गरिएको छ । पार्कको सुरक्षाको लागि फलामे तारले घेराबारा पनि गरिएको छ । ‘घना जंगल भित्रको पार्क मनमोहक देखिन्छ, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले भन्नुभयो, केही थप पूर्वाधार निर्माण गरेर प्रचार प्रशार गर्ने हो भने पार्कलाई आन्तरिक पर्यटकहरुको गन्तव्य बनाउन सकिन्छ ।’ उहाँले थप व्यवस्थापन गरेर पार्कलाई पिकनिक स्पोटको रुपमा विकास गर्न सकिने बताउनुभयो । वन संरक्षण र पर्यटकीय क्षेत्रको विकासको लागि वडा कार्यालय सक्दो सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

डिभिजन वन कार्यालयबाट हस्तान्तरण गरेर लिएदेखि नै उपभोक्ताहरु वन संरक्षणमा लागिपर्दै आएको समुहका सहसचिवचन्द्र न्यौपाने बताउनुहुन्छ । ‘आगलागी, चरिचरण, काठको चोरी तस्करी र चोरी सिकारी नियन्त्रणको लागि उपभोक्ता निरन्तर सक्रिय छन, उहाँले भन्नुभयो, वनमा आगोको झिल्को मात्रै देखियोस वा कतै बन्दुक पडकिएको आवाज आयो भने पनि उपभोक्ताहरु घरघरबाट निस्किएर पुग्छन ।’ सहसचिव न्यौपानेले सबै उपभोक्ताको सहभागितामा वन संरक्षणको प्रयासमा सफलता मिलेको सुनाउनुभयो ।

हरेक वर्ष हिउदयाममा उपभोक्ताहरुलाई परिचालन गरेर झाडी र पतकर सफाइ गरिदै आइएको र डढेलोको रोकथाम भएको पनि उहाँको भनाइ छ । झाडी सफाइ र नाला निर्माणपछि वन क्षेत्रभित्र २ वर्षदेखि आगलागी हुन नपाएको उहाँले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा छिमेकी सामुदायिक वनहरुबाट सल्केको डढेलो फैलिएर वन विनास गरेपछि समुहले गत वर्ष सीमा क्षेत्रमा ३ किमी लामो नाला बनाएको थियो ।

डिभिजन वन कार्यालयले ०६५ सालमा १८८ हेक्टर वन क्षेत्र हस्तान्तरण गरेर समुहलाई दिएको हो । वन समुहमा हाल ४६० घरधुरी उपभोक्ता रहेकाछन । यसअघि बालकृष्ण दर्लामी र बासु तिमल्सिनाको नेतृत्वमा रहेको समुहको पछिल्लो २ कार्यकालमा भने पुलामीले नेतृत्व गर्दै आउनुभएको छ ।

सब डिभिजन वन कार्यालय निजगढका वन अधिकृत रघुनाथ दास पनि वन संरक्षणमा जनहित वन समुहको सक्रियता सहनीय रहेको बताउनुहुन्छ । उहाँले वन समुहले वृक्षारोपणसंगै डढेलो, चरिचरण तथा चोरी सिकारी नियन्त्रण जस्ता कार्यमा उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो । महिलाको नेतृत्वमा रहेको सो वन समुह वन संरक्षणको लागि बारा जिल्लामा उदाहरणीय रहेको अधिकृत दासले बताउनुभयो ।

Leave a Reply