वीरगन्ज,नेपाल राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको मौद्रिक नीतिको विरोधमा मधेश प्रदेशका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले बिहीवार वीरगन्जमा आयोजना गरेको चालू पुँजी कर्जा सम्बन्धि मार्ग दर्शन र निजी क्षेत्रको सरोकार विषयक अन्तरसंवादका क्रममा उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको मौद्रिक नीतिप्रति आक्रोश पोखेका हुन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधानहरुप्रति आपत्ति जनाउँदै बरिष्ठ उद्योगी अशोक टेमानीले व्यवसायी पलायन गर्ने नीति यथाशीघ्र सच्याउनुपर्नेमा जोड दिनुभयो । यसअघि २४ सै घण्टा चल्ने उद्योग व्यवसाय राष्ट्र बैंककै नीतिका कारण बन्द अवस्थामा रहेको हुँदा आगामी दिनमा अरु व्यवसायी पनि धरासायी हुन सक्ने भन्दै टेमानीले चिन्ता व्यक्त गर्नुभयो ।
व्यवसायको प्रकृतिअनुसार फरक चालू पूँजी आवश्यक पर्ने भएकाले २ करोड रुपैयाँभन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्रै गरिनु अव्यावहारिक भएको बताउँदै उहाँले भन्नुभयो, ‘अब हामी के चिया पसल, पान पसल खोलेर बस्ने हो ?’ अधिकांश किसानहरुको बैंक खाता नहुँदा बैंकबाटै कारोवार गर्न नसकिएको बताउँदै टेमानीले ठूला उद्योग बन्द गर्ने नीति मान्य नहुने बताउनुभयो ।
अर्का उद्योगी अशोक वैद्यले पनि टेमानीकै भनाइमा समर्थन जनाउँदै सरकारले बैंकलाई शक्तिशाली बनाएको बताउनुभयो । बैंकले उद्योगी व्यवसायीसँग सौतेलो व्यवहार गरेको बताउँदै उहाँले विभिन्न आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्ने सुझाव दिनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बैंकलाई शक्तिशाली बनाएकै कारण मनोमानी बढेको बताउनुभयो । नियामक निकायले नियमन गर्नुपर्नेमा जोड दिँदै उद्योगी व्यवसायीलाई आन्दोलन चर्काउन विवश नबनाउन पनि उहाँले आग्रह गनुभएको छ ।
उद्योगको हित विपरीत नीति अंगालेर निजी क्षेत्रलाई बेवास्ता गर्दा यसको क्षति सिंगो देश र देशवासीले बेहोर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ताको भनाइ छ । चालू पूँजी कर्जा २०७९ का अधिकांश प्रावधान निजी क्षेत्रको विरुद्धमा भएको बताउँदै डा. गुप्ताले प्रावधान बनाउनुभन्दा पहिला उद्योगी व्यवसायीसँग छलफल गरेर निर्माण गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडियाले बैंकहरुले अप्रत्याशित ब्याज बढाएकोमा आपत्ति जनाउनुभयो । राष्ट्र बैंकको मौद्रिक नीतिलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ मौन बसेको भनाइको खण्डन गर्दै उहाँले महासंघले खुट्टा नकमाएको दावी गर्नुभयो । सबै उद्योगी व्यवसायीको एकताबद्ध आन्दोलनले मात्रै मागको सम्बोधन हुने वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका केडियाको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले चाडवाड नजिकिँदै गर्दा खुशी हुनुपर्ने उद्योगी व्यवसायीहरु निराश भएको प्रतिक्रिया दिनुभयो । राष्ट्र बैंकले लिएको चालू पुँजी कर्जा सम्बन्धि नीती सच्याउन महासंघले निरन्तर दबाब दिइरहेको बताउँदै उहाँले नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश विरोध कार्यक्रम गरेर दबाब दिने पहिलो संघ बनेको बताउनुभयो । विरोधका लागि नभएर दबाब दिएर नीति सच्याउनका लागि विरोध गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको सुझाव छ ।
गुणस्तरीय र विश्वासिलो सेवा नदिएरै बैंकले सर्भिस चार्ज लिने गरेकोमा उहाँको आपत्ति छ । बैंकहरूले मनपरी सर्भिस चार्ज लिइरहेको बताउँदै उहाँले नियमन निकायको प्रभावकारीतामा प्रश्न उठाउनुभयो । बजारमा पूँजीको अभाव नभएको बताउँदै उहाँले लगानी योग्य पुँजीको अभाव खट्किएको जिकिर गर्नुभयो ।
अन्तरसंवादमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट सहभागी १६ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीसँगै प्रतिनिधिहरुले गुनासो राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले निजी क्षेत्रलाई फकाएर उनीहरुबाट लगानी गराउनुपर्ने ठाउँमा उल्टै डराएर लगानी नै गर्ने वातावरण नबनाउनु राष्ट्रका लागि लज्जास्पद विषय भएको बताउनुभयो । निजी क्षेत्रकै कारण रोजगारीको सृजना हुनुका साथै स्वदेशमै उत्पादनमुलक क्रियाकलाप बढ्दै गएको अवस्थामा उद्योगी व्यवसायीलाई दुःख दिएर हतोत्साहित बनाउने प्रवृति सुधार्नुपर्नेमा उहाँको जोड छ ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण इकोनोमिक्स रिपोटर्स एशोसिएशन पर्साका अध्यक्ष ओमप्रकाश खनालले गर्नुभएको थियो ।
अन्तरसंवादपछि उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शनसमेत गरेका थिए । वीरगन्जको मकालु चौकबाट हातमा कालो पट्टी बाँधेर शुरु भएको विरोध प्रदर्शन, ग्रिनसिटी चौक, घडिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नेपाल राष्ट्र बैंक वीरगन्ज शाखामा पुगेर टुंगिएको थियो । प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले ‘करदाताको रक्षा गर, बैंकको सेवा शूल्क घटाउ, कर्जा ब्याज दर घटाउ, काम गरी खान देउ’ लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए ।
सोही अवसरमा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले १५ बुँदे मागसहित राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगन्जका निर्देशक राजनदेव भट्टराईमार्फत राष्ट्र बैङ्कका गर्भनरलाई ज्ञापनपत्र बुझाइएको नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्तीय तथा बीमा समितिका संयोजक अनिल अग्रवालले जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझ्दै क्षेत्रीय कार्यालयका निर्देशक भट्टराईले महासंघ मधेश प्रदेशका मागहरु जायज रहेको बताउनुभयो । साथै सकेसम्म छिटै गर्भनरसमक्ष पठाएर मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।



















