पुष्पराज खतिवडा
मनहर्वा,बाराको टाँगियाबस्तीमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहितको उच्च स्तरीय टोलीले निरीक्षण गरेपनि स्थानीय भने अझै विमानस्थल निर्माण हुने कुरामा आश्वस्त हुन सकेका छैनन ।
पूर्वप्रधानमन्त्री नेपाल सहित नागरिक सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ, वनमन्त्री रामसहाय यादव, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको टोली गत हप्ता बस्तिको निरीक्षण गरेको थियो । यस्तै टोलीमा बागमती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका मन्त्रीहरु, संघीय सांसद, नेता तथा नेपाल सरकारका सचिवहरुसहित ३ दर्जनभन्दा बढी उच्चपदस्थ कर्मचारीहरु पनि सहभागी थिए ।
कार्यक्रममा बोल्दै सबै नेता तथा मन्त्रीहरुले टाँगियाबासीलाई विमानस्थल चाढै बन्ने भनेर आश्वासन दिएका थिए । पर्यटनमन्त्री आलेले टाँगियाका जनतालाई उच्च प्राथमिकतामा राखेर बस्ति स्थानातरण गर्ने विषयमा सरकार गम्भीर ढंगले लागेको बताउनु भएको थियो । केही समयभित्र देखिने गरी काम गर्ने उहाँले बताउनुभएको थियो ।
पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जुनसुकै मुल्यमा निजगढ विमानस्थलको कामलाई तिव्रता दिने योजना सुनाउनुभयो । नेपाली काँग्रेसका बरिष्ठ नेता पौडेलले काँग्रेसले अघि सारेको योजना भएकाले काँग्रेस यस कार्यलाई सफल पार्ने पयत्नमा रहेको बताउनुभयो ।
नेता र मन्त्रीको भाषण सुनेपछि पनि स्थानीय भने विमानस्थल बन्ने कुरामा ढुक्क हुन सकेका छैनन । नेताहरुले यसरी आएर भाषण दिएको धेरै वर्ष बितिसक्यो तर विमानस्थल बन्ने छाटकाँट अहिलेसम्म पनि छैन टाँगियाबस्ति सरोकार समितिका संयोजक रमेश सापकोटाले बताउनुभयो । ‘सरकार फेरिपिच्छे मन्त्रीहरु आउछन, अब म बनाउछु भन्छन तर कुर्सीमा बसेपछि सिन्को पनि भाच्दैनन ।’ उहाँले २ दशकको अवधिमा दर्जनौं नेता र मन्त्रीले आएर स्थानीयलाई यसरी नै आश्वासनमात्रै दिदै आएको सुनाउनुभयो ।
‘दलबल सहित नेताहरु आउने र आश्वास दिने र फर्किएपछि विमानस्थल बनाउने कुरा र टाँगियाका जनताको समस्या बिर्सिने पुरानै रोग, समितिका सचिव सुमन ठोकरले भन्नुभयो, अब त मन्त्रीका कुरा पनि विश्वास लाग्न छोडिसक्यो ।’ उहाँले यसपटक पनि मन्त्रीहरुले राम्रै कुरा गरेर गएको तर भरोशा गर्ने अवस्था नदेखिएको बताउनुभयो ।
अर्का स्थानीय किरण लामा पनि सरकारी टोलीको अनुगमन, निरीक्षण र आश्वासनले समेत स्थानीय आजित बनेको बताउनुहुन्छ । यसपटक चाही पहिलेकोभन्दा निक्कै ठुलो टोली आएको छ, उहाँले भन्नुभयो, केही हुन्छ कि जस्तो लागेको पनि छ, तर भर पर्ने ठाउँ भने छैन ।’
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्तीमा १ हजार ४ सय ७६ बढी घरपरिवारमा १२ हजार बढी मानिस बसोबास गर्दै आएका छन् । यहाँ हालसम्म बत्ति विजुली, टेलिफोन, स्वास्थ्य संस्था र खानेपानीको राम्रोे सुविधा छैन । विमानस्थल निर्माण क्षेत्र भनेर स्थानीय पालिका र संघीय सरकारले पनि विकास निर्माणका कुनै आयोजना पनि बस्तिमा संचालन गरेका छैनन । विकास निर्माण पूर्वाधारको अभावमा यहाँका बासिन्दाले वर्षौदेखि कष्टप्रद जीवनयापन गर्दै आएका छन ।