निजगढ,स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ नगर समितिले तीनजना महासमिति सदस्य सहित ७ जना नेता कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

नगर समितिले महासमिति सदस्यहरु शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुवँर, जिल्ला कार्यसमितिका सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा क्षेत्र नम्बर १ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला कार्यसमितिका पूर्वसदस्य रामचन्द्र जैसवाललाई कारबाही गर्न सिफारिस गरेको हो छ । उहाँहरुमाथि गत स्थानीय निर्वाचनमा निजगढ नगरपालिकामा पार्टीको तर्फबाट प्रमुख पदका उम्मेदवार सुरेश खनाललाई हराउन भूमिका खेलको आरोप लगाइएको छ । नगर कार्यसमितिको शुक्रवार बसेको बैठकले पार्टीको उम्मेदवार हराउने भूमिका खेल्नेहरुलाई प्रमाणसहित कारबाहीको लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको निजगढ नगर सभापती नवराज तिमल्सिनाले जानकारी दिनुभयो ।

नेकपा माओवादीसंग गठबन्धन गरेर निर्वाचनमा उत्रिनुभएका निवर्तमान मेयर समेत रहनुभएका खनाल नेकपा एमालेका उम्मेदवार सुरथ पुरीसंग पराजित हुनुभएको थियो । गठबन्धनबाट उपमेयर पदका उम्मेदवार माओवादीका रवि दङ्गाल पनि एमालेकी सोममाया थिङ्गसंग पराजित हुनुभएको छ ।

नगरप्रमुख पदमा पराजित बने पनि कांग्रेशले निजगढमा यो निर्वाचनमा ८ वटामा वडा अध्यक्ष पद जितेको छ । यसअघि कांग्रेशले निजगढका ५ वटा वडामा मात्रै जित हात पारेको थियो ।

त्यसैगरी नेपाली कांग्रेश कोल्हबीले पनि वडा नम्बर १ मा पार्टीबाट वडा अध्यक्षका उम्मेदवार त्रियोगी राउत थारुलाई अन्तरघात गरेर हराएको भन्दै नगर सभापती विरेन्द्रप्रसाद चौधरीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

कोल्हबीमा शनिवार भएको कांग्रेश कार्यकर्ता भेलाले कांग्रेश नगर सभापती विरेन्द्र र छोरा छोरा नेविसंघको आदिवासी जनजाति संयोजक समिर चौधरीलाई पार्टीका उम्मेदवार राउत थारुलाई अन्तरघात गरेर हराएको आरोपमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार राजहरण चौधरी विजयी बनेपछि कांग्रेशभित्र अन्तरघातको बहश सुरु भएको हो ।

Leave a Reply