सिमरा,तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघले आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लबमाथि रोमाञ्चक जित हात पार्दै विजयी सुरुवात गरेको छ । मंगलबार औराहस्थित सेज क्रिकेट मैदानमा सम्पन्न खेलमा मकवानपुरले आयोजकलाई ६ रनले पराजित गरेको हो ।

१५२ रनको लक्ष्य पछ्याएको आयोजक टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो । आयोजकका राहुल यादवले आक्रामक ब्याटिङ गर्दै २२ बलमा अविजित ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले चार छक्का र एक चौका प्रहार गरे ।यसअघि राहुल हकले ३७, विकास सर्राफले २६, कमलेश दासले १८ र रजनिश मण्डलले १२ रनको योगदान दिएका थिए । अन्य ब्याटर भने दोहोरो अंकमा रन जोड्न असफल भए ।

मकवानपुरका साकार गजुरेलले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । यस्तै रोहित ठाकुर र विशाल फुयाँलले दुई÷दुई विकेट हात पारे भने निकेश श्रीवास्तवले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । टोलीका ओपनर गोकुल अधिकारीले ३५ रन जोड्दा राजा अहमदले १९, विशेषविक्रम थापाले १८, विशाल फुयाँलले १४ तथा युविन बुढाथोकीले १३ रन बनाए ।
आयोजकका आशिफ शेख र रेहान जाकिरले दुई-दुई विकेट लिए भने राहुल यादव, रोहन यादव र रितेश यादवले समान एक÷एक विकेट हात पारे ।

खेलको प्लेयर अफ द म्याच मकवानपुरका साकार गजुरेल घोषित भए । उनलाई नविन खड्काले पुरस्कृत गरे । साथै समिर लुईटेलले जनकपुर बोल्ट्सको जर्सी हस्तान्तरण गरेका थिए ।प्रतियोगिता अन्तर्गत बुधबार चितवन जिल्ला क्रिकेट संघ र आयोजकबीच प्रतिस्पर्धा हुनेछ। चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply