काठमाडौं,राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले आफ्नो जित जोगाएको छ ।आइतवार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी हुनुभएको हो । उहाँ५ हजार ३ सय ३४ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो ।
यहाँ नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रो हुन पुग्नुभयो । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो हुनुभएको हो ।उहाँले ४ हजार ३ सय ३७ मत प्राप्त गर्नुभएको छ ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहनुभयो । उहाँले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याउनुभएको थियो ।त्यतिबेला नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहनुभएको थियो ।माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उहाँले त्यतिबेला ४ हजार ९० मत प्राप्त गर्नुभएको थियो ।



















