बिदुर खडका
डुमरवाना,बाराको जीतपुरसिमरा उपमहानगरभित्रको एउटा सामुदायिक विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ ।
उपमहानगरका प्रमुख राजन पौडेलसहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणको क्रममा एउटा नमुना विद्यालयसहित अन्य ५ विद्यालयले परीक्षाको पुस्तिका जाँचै नगरी मनपरी ढंगले अंक दिएको खुलेको हो । शिक्षकहरु आफैंले मनोमानी ढंगले विभिन्न विषयमा अंक लेखेर उपमहानगरको शिक्षा शाखालाई बुझाउने गरेको खुलेको प्रमुख पौडेलले बताउनुभयो ।
नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियाले परीक्षा सकिएको छ महिनासम्म सुरक्षित राख्नु पर्ने उत्तरपुस्तिका कवाडीमा बिक्री गरेको पनि खुलेको छ । उत्तरपुस्तिका दराजमा थन्क्याएर राखेको अनुगमन टोलीले फेला पारेपछि उपमहानगरका अन्य सामुदायिक विद्यालयमा समेत यस्तै हुने गरेको आशंका गरिएको छ ।
नेरामावि बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपराका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका दराजमा राखेको र उत्तरपुस्तिका जाँचै नगरी हचुवामा विद्यार्थीलाई नम्बर दिएको पाइएको शाखाका अधिकृत हरिष भट्टले बताउनुभयो ।
उपमहानगरले उक्त विद्यालयका प्रधानाध्यापकसहित बिषयगत शिक्षकहरुलाई तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ । स्थानीय सरकार संचालनको छैठौं वर्ष लाग्दै गर्दा बाराको स्थानीय तहहरुमा प्रमुखसहित शिक्षा शाखाको टोलीले सामुदायिक विद्यालयमा छडके अनुगमन गरेको यो पहिलो घटना हो ।


















