पुष्पराज खतिवडा
बारा,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सत्ता समीकरण कायम नै रहने बताउनुभएको छ ।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर– ३ ले जिल्लाको बडहर्वामा बुधवार आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको कारण सत्ता समीकरण नफेरिने स्पष्ट पार्नुभयो ।
सरकारको काम गर्ने शैली ठीक ढंगले अगाडि नबढेको भन्दै उहाँले काम गर्ने शैली भने फेर्नु पर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘सरकारको काम कार्बाहीको समीक्षा भइरहेको छ, उहाँले भन्नुभयो, सरकारको काम गर्ने शैली परिवर्तन गरिने छ ।’

महामन्त्री गगन थापाले काँग्रेस र एमाले मिलेर बनेको सरकारले संविधान संशोधन र सुशासनको जनअपेक्षा पुरा गर्नुपर्नेमा जोड दिनुभएको छ । थापाले प्रदेश सरकारमा भ्रष्ट्राचार र अनियमितताका कुरा बढी आएका छन् भन्नुहुँदै सङ्घीयताको आधार स्तम्भको रुपमा रहेको मधेश प्रदेशमा भ्रष्ट्राचार र अनियमितता अन्त्य गर्न सबै जुट्नुपर्ने पनि बताउनुभयो ।
आगामी निर्वाचनमा काँग्रेस कुनै दलसँग मिलेर गठबन्धन गरि चुनावमा जाने कल्पना पनि गर्न नसकिने बताउँदै उहाँले काँग्रेसको जग मधेसलाई थप मजबुत बनाएर मधेसको बलमा ०८४ को चुनावमा काँग्रेसले एकल बहुमत हासिल गर्ने समेत दाबी गर्नुभयो ।

महामन्त्री थापाले पार्टीको क्रियाशील सदस्य वितरण वैशाख १५ गतेसम्म टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै पार्टीभित्र बृहत्तर एकता आपसी सहमति सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपाललाई संघीय गणतन्त्र घोषण गर्ने पार्टी काँग्रेस भएको हुँदा अन्य तन्त्रको बारेमा सोच्न पनि नसकिने उहाँको भनाई छ । उहाँले संविधान प्रति देखिएका केही असन्तुष्टि सम्बोधन गर्न अबको एक वर्षभित्रमा संविधान संशोधन गरिने पनि स्पष्ट पार्नुभयो ।अर्को प्रसङ्गमा उहाँले सरकारले अविलम्ब शिक्षकहरुलाई कार्यक्षेत्रमा फर्काउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयमा पठनपाठनमा लाग्नुपर्ने शि

क्षकहरु आन्दोलन गर्दै सडकमा उत्रिनुपर्ने अवस्था उत्पन्न हुनु दुःखको कुरा भएको उहाँको भनाई छ ।
नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै समयमा गरिने महामन्त्री थापाले कार्यकर्ताहरुलाई आश्वस्त पार्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले विधान र पद्धति अनुसार पार्टी चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिगामी तत्वहरु सलबलाउन थालेको भन्दै त्यसलाई निस्तेज पार्न सबै सचेत हुनुपर्ने बताउनुभयो । अर्का सहमहामन्त्री उमाकान्त चौधरीले मधेस कांग्रेसको उर्वर भूमि भएको बताउँदै मधेसमा पार्टीलाई बलियो बनाउन बिशेष ढंगले अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय सभापती प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश रसाईली, मधेस प्रदेश उपसभापति चन्द्राशेखर यादब वीरेन्द्र सिँह, मधेस प्रदेशका सहमहामन्त्री जयनारायण यादव, बारा जिल्ला सचिव भैयाराम यादव, बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती विजयशंकर यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवलगायतकाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कांग्रेस नेतृ निरु रायमाझी, संविधान सभा सदस्य शोभाकर पराजुली, मधुशाही ठकुरीलगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन क्षेत्रीय सचिव राजेश भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply