वीरगञ्ज । बचतकर्ताको करोडौं रकम लिएर वीरगञ्जको आदर्शनगरस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातुन सम्पर्कबिहीन भएपछि बचतकर्ताहरुले बिहीवार कार्यालयमा धर्ना दिएका छन ।काठमाडौँको कालिमाटीमा प्रमुख कार्यालय भएको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको वीरगञ्जस्थित शाखा बचतकर्ताको १ अर्ब भन्दा पनि बढी रकम लिएर सम्पर्कबिहीन बनेपछि बचतकर्ताले कार्यालयमा धर्ना दिएका हुन । बचत गरेको रकम लिएर अधिकृत खातुन फरार भएको बचतकर्ताहरुको आरोप छ ।एक महिनादेखि सहकारीको कार्यालय पुग्दा पनि पैसा फिर्ता नपाएपछि बिहिवार बचतकर्ताहरुले धर्ना दिएका हुन । “खुद्रा व्यापारीले प्रतिदिन जम्मा गरेको रकम फिर्ता पाउँ”, “सञ्चालक समितिको सदस्यहरुको नाम, फोन नम्बर र ठेगाना सार्वजनिक गरी पाउँ”, “घरमा विवाह संस्कारको लागि जम्मा गरेको बचत रकम फिर्ता पाउँ”, “स्वास्थ्य तथा उपचारको लागि बचत गरेको मुद्दति रकम फिर्ता पाउँ” लगायत नारा लेखिएका पेकार्डसहित पुगेका बचतकर्ताहरुले सहकारीको कार्यालयमै पुगेर एक घण्टाजति धर्ना दिएका थिए ।बचतकर्ताका अनुसार एक वर्षादेखि सहकारीका कर्मचारीले जम्मा भएको पैसा फिर्ता दिएका छैन । स्वास्थ्य उपचारको लागि थोरैथोरै गरेर जम्मा गरेको पैसा आवश्यकता परेको बेला फिर्ता नपाउँदा आफू बिचल्लीमा परेको बचतकर्ता अङ्कित अग्रवालले बताउनुभयो । ‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर मेहनत गरेर कमाएको मध्ये प्रत्येक महिना २०÷२५ हजार जम्मा गर्दै आएको थिए । १० लाख जति एफडी पनि गरेको छु,’ अग्रवालले भन्नुभयो, ‘आज उपचार गराउने समय आउँदा सहकारीले पैसा दिएन । अब उपचार गर्न नपाएर समस्या बेहोर्नु प¥यो ।’केहि महिना अगाडिसम्म सहकारीले दैनिक पाँच हजारको दरले पैसा दिने गरेको भएपनि पछिल्लो समय त्यो पनि नपाएको बचतकर्ताहरुको गुनासो छ । ‘हामीहरु पैसा माग्न पुगेपछि पाँच÷पाँच हजारको दरले दिन्छौँ भनेर शाखा प्रमुख खातुनले भनेकी थिइन,’ बचतकर्ता विक्रम सर्राफले भन्नुभयोे, ‘अहिले त्यो पनि पाउँन सकिएकोछैन । अति भएपछि कार्यालयमा धर्ना दिन बाध्य भयौँ ।’छोरीको विवाहको लागि जम्मा गरेको पैसा पनि सहकारीले फिर्ता नगरेको अर्का बचतकर्ता रामबाबु कलवारले बताउनुभयो ।कार्यालयमा रहेका सबैभन्दा वरिष्ठ कर्मचारी सहायक ऋण अधिकृत रविन्द्र यादवले सञ्चालकहरु फरार नभएको बताउनुभयो । बचतकर्ताहरुको पैसा ढिलाइ भएको स्वीकार्दै उहाँले भन्नुभयो, ‘बजारमा चलिरहेको आर्थिक मन्दीका कारण समस्या भएको हो । हामी सञ्चालकहरुसँग निरन्तर सम्पर्कमा छौँ, अर्को सातादेखि पैसा बचतकर्ताहरुले पैसा फिर्ता पाउँनु हुन्छ,’ यादवले भन्नुभयो । सहकारी मर्जरको प्रक्रियामा रहेको कारण पनि बचतकर्ताको पैसा फिर्ता गर्न ढिलाइ भएको यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here