सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नापी शाखाका कर्मचारीमाथि वडा अध्यक्ष ताराबहादुर कार्कीले दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरु कार्यालयको कामकाज ठप्प पारेर बिहीवारबाट विरोधमा उत्रिएका छन । दुव्र्यवहार गर्ने वडा अध्यक्ष कार्कीलाई कारबाही गर्न नगर प्रमुख राजन पौडेलसंग कर्मचारीहरुले माग गरेका छन ।

जीतपुरसिमरा वडा नम्बर ३ का वडा अध्यक्ष कार्कीले अदालतमा विचाराधीन रहेको जग्गामा कार्यालयबाट खटेका कर्मचारीले आफूले भनेजसरी काम नगरेको भन्दै २ जना अमिनलाई बुधवार ३ घन्टासम्म थुनेर गाली गाली गलौजसमेत गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

अध्यक्ष कार्कीले सिमरास्थित जनजागरण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको शान्तबहादुर मल्लको विवादित जग्गा नाप्न बुधबार दिउँसो उपमहानगरका अमिनहरु अम्बिकाप्रसाद कुशहवा र प्रदीपकुमार वैठालाई बोलाउनुभएको थियो । अमिनहरुले सो जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेको विवादित जग्गामा फैसला नआएसम्म नापजाँच गर्न नसकिने भन्दै मुचुल्कामा हस्ताक्षर गर्न इन्कार गरेपछि वडाध्यक्ष कार्कीले कुशवाहा र वैठालाई ३ घन्टासम्म थुनेर राखेको कर्मचारीले बताएका छन् ।कर्मचारीलाई नगरप्रमुख राजन पौडेलले प्रहरीको सहयोगमा बुधवार साँझ मुक्त पार्नुभएको थियो । वडा अध्यक्ष कार्कीले कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै उपमहानगरका २४ वटै वडाका कर्मचारीहरु बिहीवार कार्यलयका सम्पुर्ण कामकाज ठप्प पारेर विरोधमा उत्रिएका थिए । उनीहरुले वडा अध्यक्ष कार्कीले कर्मचारीहरूसँग लिखित रुपमा माफी माग्नुपर्ने माग गर्दै नगर प्रमुख पौडेललाई ज्ञापनपत्र पनि बुझाएका छन । अध्यक्ष कार्कीले माफी मागेपछि मात्रै कर्मचारीहरु काममा फर्किने आधिकारिक ट्रेड युनियन बारा जिल्ला अध्यक्ष एंव कार्यालयका लेखा अधिकृत राजेन्द्र कार्कीले बताउनुभएको छ ।

उपमहानगरभित्र वडा कार्यालयमा सहित करिव ३ सय कर्मचारी कार्यरत छन् । वडा अध्यक्षको कार्यशैलीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण समेत नभएको भन्दै कर्मचारीहरुले गुनासो समेत गरेका छन् । वडा अध्यक्ष कार्कीले भने सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गा नाप जाँचको क्रममा अदालतवाट नापी नआएको र उपमहानगरको नापीले नापजाँच गरिसकेपछि सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्न आलटाल गर्दा विवाद भएको बताउनुभएको छ ।

Leave a Reply