निजगढ,निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको भवन निर्माण गर्न २०६६ सालमा लगाइएको महायज्ञमा ५० हजार रुपैयाभन्दा बढी रकम दान गर्ने दाताहरुलाई क्याम्पस सभाको सदस्य बनाइने भएको छ ।शुक्रवार भएको क्याम्पस सभाले महायज्ञमा ५० हजार रुपैयासम्म रकम कबोल गरेर चुक्ता गर्ने सबै दाताहरुलाई क्याम्पस सभाको सदस्य बनाउने निर्णय गरेको हो । सभाले महायज्ञमा दान रकम कबोल गर्न छुटेका तर सदस्य बन्न चाहने दाताहरुको लागि भने क्याम्पस सभा सदस्य बन्न ६० हजार रुपैया दान गर्नुपर्ने निर्णय गरेको छ । तर महायज्ञमा कम रकम कबोल गरे दाताले चाहेमा ५० हजार पु¥याएर क्याम्पस सभा सदस्य बन्न पाउने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी महायज्ञमा १० हजारदेखि माथि रकम दान गर्नेहरु मध्येबाट सभाका कुल सदस्य मध्ये २५ प्रतिशत दातालाई सभाको सदस्य बनाउने निर्णय पनि गरिएको क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यो निर्णयसंगै अब क्याम्पस सभाको सदस्य संख्या २ सयभन्दा बढी पुग्ने भएको छ । हाल सभामा १५० सदस्य रहेका छन ।
त्यस्तै सभाले महायज्ञमा कबोलेको रकम चुक्ता नगर्ने दाताहरुबाट रकम असुली गर्न र हाल भोग गर्दैआएको जग्गा क्याम्पसको नाममा दर्ता गर्न पनि आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय भएको छ । क्याम्पसले निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको भोग गर्दैआएको २ बिघा ५ कठ्ठा जमिनमा आफ्नो नाममा ल्याउने पहल शुरु गर्ने निर्णय गरेको हो । सो जमिनमा क्याम्पसले भवन निर्माण गरेर प्रयोग गर्दैआएको छ ।क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले सभामा पेस गरेको क्याम्पसको प्रगति प्रतिवेदन सभाले पारित गरेको छ । गणपुरक संख्या नपुगेर यसअघि २ पटकसम्म स्थगित भएको साधारण सभा हिजो सम्पन्न भएको हो ।

















