बसन्त लामा

सिगौल, २५ भदौँ– निजगढ नगरपालिका वडा नम्बर– १ स्थित धन्सार खोलाबाट ढुङ्गा उत्खनन तीव्र पारिएको छ । वडा अध्यक्ष मंगले लोप्चनको मिलिमतोमा निषेधित अवधिमा पनि खोलाबाट उत्खनन तीव्र पारिएको हो । स्थानीयकाअनुसार खोलामा बिहान २ बजे नै टेक्टर हुलेर उज्यालाे नहुन्हुजेलसम्म उत्खनन हुने गरेको छ ।

दैनिक ५÷७ वटा टेक्टर प्रयोग गरेर बगरबाट ढुङ्गा स्टक गरिने र बिहान ५/६ बजेतिर उज्यालो भएपछि टेक्टर घर फर्काउने गरिएको बताइएको छ ।
सरकारले बर्षायामको असारदेखि भदौँसम्मको ३ महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको भएपनि वडा अध्यक्ष लोप्चनसहित स्थानीय टेक्टरधनीले खोला बगरबाट ढुङ्गा निकालेर अवैध रुपमा स्टक गरेका हुन । अवैध उत्खननको करिव ७०÷८० टिपर ढुङ्गा खोला पश्चिमको वन क्षेत्र र सार्वजनिक जमिनमा थुपारेर राखिएको छ ।

त्यसैगरी वडा अध्यक्ष लोप्चनले धन्सार खोला बगरमा पनि ढुङ्गा थुपारेर राखेको बताइएको छ । गत आर्थिक वर्षमा राष्ट्रपति तराईमधेस चुरे संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा धन्सार नदीमा कच्ची ड्याम निर्माण गर्ने क्रममा प्रयोग भएको स्काभेटरले खनेर ढुङ्गा थुपारिएको छ ।

यसरी अवैध रुपमा भएको उत्खननको ढुङ्गा बिक्रीको सेटिङ्ग पनि वडा अध्यक्ष लोप्चनले नै मिलाउने गरेको बताइएको छ । उनले स्थानीय प्रहरी र अन्यलाईसमेत प्रलोभनमा पार्ने र उत्खननको ढुङ्गा बिक्रीको लागि ठेकेदारहरु खोज्ने कामसमेत गर्दै आएका छन । बिक्रीको लागि ढुङ्गाका ठेकेदारसंग पेस्की रकमसमेत बुझिसकेको बताइएको छ ।

स्थानीयकाअनुसार असोजमा उत्खनन र निकासी खुलेपछि अहिले स्टक गरिएको ढुङ्गा बाहिर पठाउने तयार भइरहेको छ । जनप्रतिनिधिकै सक्रियतामा अवैधरुपमा नदी दोहन भइरहदा पनि सरोकारवाल निकायले कुनै चासो नदेखाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्दै कारवाहीको लागि सम्बन्धित निकायसंग माग पनि गरेका छन ।

स्थानीयले अवैध रुपमा उत्खनन भएको ढुङ्गा निजगढ नगरपालिका र जिल्ला समन्वय समितिले जफत गरेर लिलाम गर्नुपर्ने माग पनि गरेका छन ।

Leave a Reply