हेटौडा
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामि बढ्दै गएपछि थालिएको स्प्रे अभियान जारी रहेको उपमहानगरले जनाएको छ । डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नियमितरुपमा स्प्रे गर्दै आएको जनाएको छ ।

रोगको दर बढ्दै गएपछि नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चालन गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । मकवानपुरमा डेंगु संक्रमणको संख्या क्रमशः बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार बुधबार १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा सबभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना छन् । मकवानपुरगढी गाउ“पालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउंपालिकाका १ र मनहरी गाउं पालिकाका ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार थपिएका १ सय २४ संगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १ हजार ३ सय ३१ पुगेको छ । जसमध्ये ५ सय ५७ महिला छन् । पछिल्ला दिनहरुमा तीव्ररुपमा डेंगु संक्रमित बढेका छन् । हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो ।

संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासंगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताए ।

Leave a Reply