निजगढ,काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक आयोजना र निजगढ नगरपालिकाको सहकार्यमा निजगढमा संचालन गरिने ३० दिने काष्ठ नक्काशी (उड कार्भिङ्ग) तालिमको निजगढ नगरपलिकाका नगर प्रमुख सुरथ पुरीले शुक्रवार उद्धाटन गर्नुभएको छ ।
काठमाण्डौं तराई मधेश द्रुतमार्ग सडक आयोजना रुख कटान कार्यदलका प्रमुख सेनानी दिनेश मल्लको अध्यक्षतामा संचालित तालिम उद्धाटन कार्यक्रममा नेपाल काष्ठकला महासंघका अध्यक्ष रत्नमुनी बह्मचार्य, नेपाल महिला उद्यम संघका कार्यकारी अध्यक्ष रेखा अर्याललगायत विभिन्न राजनीतिक दल, संघ÷संगठनहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले तालिमले निजगढ क्षेत्रभित्रका युवाहरुलाई उद्यमशील बनाएर रोजगारीको सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । ३० दिनसम्म संचालन हुने उक्त तालिममा निजगढ नगरपालिका क्षेत्रभित्रका २५ जना युवाहरुको सहभागिता रहेको छ ।


















