सिम्रौनगढ,नगरपालिका तोडफोड र कर्मचारीमाथि कुटपिटको विरोधमा बाराको सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरुले ११ दिनदेखि सेवा ठप्प पार्दै आएका छन । लामो समयदेखि नगरपालिका माताहातका सबै सेवाहरु ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

नगर अस्पताल तोडफोड गर्ने र कर्मचारी कुटपिटको घटनामा संलग्‍नहरुमाथि कारबाहीको माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयका कर्मचारीहरुरुले शिक्षा, स्वास्थ्य, वडा कार्यालय र नगरपालिकाबाट दिइने सबै सेवा तथा विकास निर्माणका काम भदौ २८ गते देखि बन्द गराएका हुन् । नगरपालिका कार्यालय र त्यस मातहतका सम्पूर्ण कार्यालय ११ दिनदेखि ठप्प हुँदा सेवाग्राहीहरु मर्कामा पर्नुका साथै विकास निर्माण सम्बन्धि कामहरु पनि प्रभावित भएका छन् ।

सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार साहले भने आफुहरुको माग पूरा गराउनका लागि गत मंगलबार प्रमुख जिल्ला अधिकारी‍समक्ष ज्ञापन पत्र बुझाइएको भएपनि अहिले सम्म कुनै सुनुवाइ नभएको बताउनुभयो । अस्पतालमा भएको तोडफोड र कर्मचारीहरुलाई गरिएको कुटपिट घटनाको छानबिन गरी दोषिमाथि कारबाही र सुरक्षाको भरपर्दो व्यवस्था नभएसम्म आफुहरु काममा नफर्किने साहले बताउनुभयो ।

नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीसँगै नगरपालिका कार्यालय तथा अस्पतालमा भौतिक सम्पत्ति तोडफोडले ठूलो नोक्सान भएको भन्दै उहाँले आफूहरुलाई सुरक्षाको प्रत्याभूति नदिएसम्म हडताल जारी नै रहने बताउनुभयो । सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंकर यादवले पनि घटनाको छानबिन र दोषिलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीले पनि चासो नलिएको बताउनुभयो । अहिले आफू काठमाण्डौमा रहेको भन्दै उहाँले कर्मचारीहरुलाई काममा फर्कन समन्वय गरिरहेको बताउनुभयो ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले पनि सो घटनामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको बताउनुभयो । घटनाको कारण र घटनामा संलग्नहरुको बारेमा अनुसन्धान भइरहेको भन्दै उहाँले छिटटै दोषिलाई पक्राउ गरिने बताउनुभयो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर– २ मौवाही गाउँका सतिश साहका डेढ वर्षीय छोरालाई सर्पले डस्दा उपचार नपाएर मृत्यु भएको भन्दै मृतकका परिवार र गाउँका केही समूह मिलेर गत भदौ २८ गते सिम्रौनगढको नगर अस्पताल र नगरपालिका कार्यालयमा तोडफोड गरेका थिए । शव सहित प्रदर्शनमा उत्रिएको आक्रोशित समूहले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत कुटपिट गरी घाइते बनाएको थियो । प्रदर्शनकारीको कुटपिटबाट नगरपालिकाका अपाङ्गता शाखाका कर्मचारी प्रयाग महतो सख्त घाइते हुनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here