कृपा संवाददाता
निजगढ – राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै ५ हजार लालपुर्जा बाँड्ने तयारी गरेको छ ।
आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरी करिव ५ हजारलाई तत्कालै जग्गाधनी पुर्जा बाँड्ने गरी काम भइरहेको जनाएको छ ।
जिल्लाका १६ वटा स्थानीय तहमध्ये ७ वटा पालिकासँग सम्झौता गरेर आयोगले काम गरिरहेको छ । तत्कालका लागि जीतपुरसिमरा उपमहानगर अन्तर्गत पथलैया, डुमरवाना, चकरी, अम्लेखगञ्ज, रामवन लगायत कोहल्वी नगरपालिकाको केही क्षेत्रमा तत्कालै पुर्जा बाँड्ने गरी काम भइरहेको आयोगका जिल्ला अध्यक्ष छविलाल उप्रेतीले बताउनुभयो ।
‘जग्गाको नाप, नक्सा, फिल्डबुक, लालपुर्जा, राजस्व सबै मिलाउने काम भइरहेको छ ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार हालसम्म आयोगले जीतपुरसिमरा उपमहानगर, कोहल्वी र निजगढ नगरपालिकाको ३ सय बिगाहा ऐलानी पर्ति जग्गा नापी गरिसकेको छ ।अन्य पालिकामा भने वडा कार्यालयले संकलन गरेको तथ्याङ्क रुजु गर्ने काम भइरहेको आयोगका जिल्ला अध्यक्ष उप्रेतीले बताउनुभयो । यसैबीच भूमि आयोगका केन्द्रीय अध्यक्ष केशवराज निरौलालेस्थानीय प्रशासन, नापी, मालपोतका कर्मचारी भूमि आयोगका लागि बोझ भएको टिप्पणी गर्नुभएको छ । पथलैयामा जग्गाधनी पुर्जा वितरण कार्यक्रममा सहभागी हुने क्रममा बारा आउनुभएका अध्यक्ष निरौलाले सिमरा विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नापी र मालपोत कर्मचारीको असहयोगका कारण आयोगले समयमै पुर्जा वितरण गर्न नसकेको बताउनुभयो । आयोगले मंगलवार पथलैयामा जग्गाधनी पुर्जा वितरण गर्न लागेको हो ।
यसअघि बाराको पथलैयामा २०५५ सालमै सुकुमवासी आयोगले पुर्जा वितरण गरे पनि कर्मचारीको लापरबाही कारण जग्गाको मुल नक्सा हराएपछि आयोगले पुनः नापनक्साको काम सुरु गरेको छ । आयोगका केन्द्रीय अध्यक्ष निरौलाका अनुसार सिमरा नापी प्रमुखले पथलैयामा पुर्जा बाँड्ने विषयमा सहमति जनाए पनि फिल्डमा पुगेपछि असहयोग गरेको बताउनुभयो । भूमि आयोगले मधेस प्रदेशका ८ जिल्लामध्ये सिरहा, सप्तरी, महोत्तरी, र धनुषामा पुर्जा वितरणको प्रकिया छिट्टै सुरु गर्दै छ भने पर्सा र रौतहटको तुलनामा बारामा तुलनात्मक रुपमा छिटो काम भइरहेको जनाएको छ ।