राजकुमार यादब
मौलापुर,रौतहट जिल्लामा पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले मंगलवार गरुडामा विरोध प्रदर्शन गरेको छ ।
गठबन्धन सरकारको इशारामा रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरे र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सर्वसाधारणलाई झुठा मुद्दा, गाली बेइजति तथा बदनाम गर्ने कार्य गर्दै आएकोले उनीको बर्खास्तिको माग गर्दै एमालेका कार्यकर्ताहरुले जिल्लाको मध्यभागमा पर्ने गरुडा बजारमा प्रदर्शन गरेका हुन । सिडियो शाही र एसपी घिमिरेको राजिनामा माग्दै एमाले जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीका सदस्यसहितका हजारौं नेता कार्यकर्ता सहभागी बनेका थिए ।
नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडा बजारको परिक्रमा गरी ईलाका प्रहरी कार्यालय गरुडा अगाडि नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो । सो क्रममा प्रदर्शनकारीहरुले ‘निर्दोषलाई फसाउन पाईदैन, पक्षपाति सरकार÷प्रशासन चाहिदैन, पक्षपाति सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दाबाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर, घटनाको वास्तविकता लुकाउनेहरुलाई कारबाही गर, दोषीलाई करवाही गर, राजनीतिक प्रतिशोधले निर्दोषलाई फँसाउने षड्यन्त्र बन्द गर, सवारी दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष साहले दोषि उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिनुभयो । मंगलवार शान्तिपूर्ण प्रर्दशन गरिएको भएपनि प्रहरी प्रशासनले गठबन्धन सरकारको ईशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्लाभरि प्रतिकार गर्ने र अनिश्चितकालको लागि जिल्ला बन्द हडताल गर्ने बताए । प्रशासनले शान्ति सुव्यवस्था कायम गर्नुको साटो जनतालाई भयवित बनाएको बताउदै अध्यक्ष साहले पाँच दलीय गठबन्धन सरकारको योजनामा प्रहरी प्रशासनले एमाले कार्यकर्ताहरुलाई फसाउने षडयन्त्र गर्नु निन्दनीय कार्य भएको बताउनुभयो ।
एक साताअगाडि नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपको चालक महोत्तरीमा मानिसहरुलाई पुर्याएर रौतहट फर्किने क्रामा गौर–चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका थिए । घटनास्थलमा समातिएको चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका हुन ।
सूचना प्रविधिको युगमा सिसिटीभी फुटेज र भिडियो क्लिपहरु प्रमाणको रुपमा हुँदा समेत सरकारी षडयन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाड्ने र निर्दोषमाथि मुद्दा दर्ता गरिएकाले दोषी उपर छानबिन गर्न र निर्दोषलाई फसाउने कार्य गर्ने सिडियो शाही र एसपी घिमिरेलाई बर्खास्त गरी रौतहटबाट हटाउनुको विकल्प नरहेको केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साहले बताउनुभयो ।
दुर्घटनाको गहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई क्षतिपुर्तिसहित न्याय दिलाउनको साटो स्थानीय प्रशासनले राजनीतिक स्वार्थमा चाकडी गरी दुर्घटनामा पीडितको समेत मन दुखाएको उहाँको आरोप छ ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज उद्धव रेग्मीले सिडियो र एसपीले गठबन्धन सरकारको इशारामा सोझा र निर्दोष जनतामाथि दमन गरिरहेको बताउदै सरकारले उनीहरुलाई बर्खास्त नगरेसम्म एमाले पार्टी आन्दोलन जारी राख्ने बताउनुभयो ।
प्रदर्शनमा केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर यादव, मधेस प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला उपाध्यक्ष दिपक यादव, सचिव बालविक्रम कार्की, उपसचिव पलट चौधरी, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य निवेश यादव लगायत सहभागी थिए ।