रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिवार राती ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ ।
सलार्हीको मलगंवाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ६ ख १२३३ नम्बरको यात्रुवाहक सम्पूर्ण डिलक्स बसको डिकिमा करिब १७ लाख मुल्य भन्दा बढीको अवैध कपडा पक्राउ गरेको हो ।
बसको डिकिमा २० वटा साना ठुला बोरामा प्याक गरेर राखिएको अवस्थामा भन्सार छलीका अवैध कपडा चन्द्रनिगाहपुर वडा नम्बर ४ राजमार्गबाट नियामित चेकजाँचको क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मलगंवाबाट ७ बजे छुटेको उक्त बस ९ बजे चन्द्रनिगाहपुर पुग्दा सुराकीको आधारमा सुरक्षाकर्मीले बसलाई रोकेर चेकजाँच गर्दा बिल नभएको अवस्थामा उक्त कपडा बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक अरविन्द कुमार साहले बताउनुभयो ।
सलार्हीको मलगंवा नाका भएर तस्करहरुले अहिले कपडाको सिण्डिकेट लाइन सञ्चालन गरेको भएपनी यात्रुवाहक बस तथा टान्सपोर्टको माध्यमबाट नेपालको विभिन्न शहरसम्म पुरयाउने गरेका थिए ।
बरामद गरिएको तस्करीको कपडाको १७ लाख ७५ हजार ३ सय ९५ रुपैया मुल्य कायम गरी जिल्ला प्रहरीले आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरेको छ भने बसका सहचालक रामबाबु ठाकुरलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।















