रौतहट । विभिन्न अपराधिक गतिविधीमा संलग्न रहेको आरोपमा सुरक्षाकर्मीले दुई जनालाई पक्राउ गरेको छ ।
हत्या तथा लागुऔषधको आरोपमा फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले पक्राउ गरेको हो । पुजारी हत्याको अभियोगमा र लागुऔषध अभियोगमा प्रहरीले छुट्टाछ्ट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको छ ।
माधवनारायण नगरपालिका २ खेसरहिया चौक स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहको दुई वर्ष अघि कन्चटमा गोली हानी हत्या गरेको अभियोगमा फरार रहेका देवाही गोनाही नगरपालिका १ करुनिया निवासी शेख बिकाउ भन्ने महम्मद कासिम आफ्नो घरमा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले छापामारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यस्तै लागुऔषध मुद्धामा फरार रहेका यमुनामाई गाउँ पालिका ४ सरुअठ्ठा टोल निवासी देवनारायाण साहको ४० वर्षिय छोरा नरेश साहलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला अदालतबाट फैसला कार्यान्वयन भई फरार अभियुक्तहरुलाई पक्राउ गर्न आदेश आएपनी उनीहरु सुरक्षाकर्मीको आँखामा छारो हाल्दै लुकिछिपी बस्दै आएको बताउँदै प्रहरी कार्यालयले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

















