राजन कुमार बानिया

पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण दिइएको हो ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताउनुभयो। कार्यक्रममा भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

वडामा सहजीकरण समिति र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष श्रीकान्त यादव पनि सकरात्मक रहेको देखिनुहुन्छ । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष यादवले भूमि आयोगका कामलाई सहयोग गर्ने बताउनुभयो ।

अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाअध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply