मनोज शाह
जीतपुर,कलवार कल्याण समिति जीतपुरको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहेका बलभद्र भगवानको शनिवार भव्य रुपमा सामुहिक पूजाको आयोजना गरिएको छ । सामुहिक पूजाको जजमानको रुपमा स्थानीय कलवार समुदायका रामबाबु प्रसाद कलवार र उहाँकी धर्मपत्नीले शोधा देवीले पूजाको अवधिभर उपवास (चौका) बसी पूजालाई पूर्णता दिलाउनुभएको थियो ।
प्राचिन कालदेखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुभएको छ । बिभिन्न समुदायका श्रद्धालुहरुले बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पूजाका आचार्य पवनेश शास्त्रीले बताउनुभयो । बलभद्रको अर्थ बारे बताउनुहुँदै आचार्य शास्त्रीले बललाई शक्ति र भद्रलाई अन्न मानिएकको बताउनुभयो ।
बलभद्र भगवानलाई भात, विषेश किसिमको दाल र पाँच प्रकारको तरकारीको भोग लगाउने प्रचलन रहेको पनि उहाँले बताउनुभयो । उहाँको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन पनि प्राचिन कालदेखि नैं चल्दै आएको आचार्य शास्त्रीले बताउनुभयो ।
पूजा आरम्भ गर्नुअघि यो समुदायका श्रद्धालुले बाजागाजा र घोडाको घोडदौल सहित शोभा यात्रा पनि निकालेका थिए । सयौंको संख्यामा रहेका श्रद्धालु भक्तजनहरुको सहभागितामा पूजा स्थलबाट निकालिएको शोभा यात्राले जीतपुरस्थित राजमार्ग हुँदै केराढोका, गुदरी बजार, टेंढारोड, पहाडी टोलस्थित दुर्गा मन्दिरसम्म पुगेर पुनः पूजा स्थलमा फर्किएर विधिवत रूपमा पूजा आरम्भ भएको हो ।