‘समालोचनालाई अङ्ग्रेजी साहित्यमा उच्च स्थानमा राखिएको छ। अङ्ग्रेजी साहित्य नै होइन तर समुच्चय प्रतिच्य प्रदेशमा समालोचकहरूको पूजा हुन्छ, सादर उनीहरूको अर्चना हुन्छ, शालिग निर्माण गरिन्छन् ।’

 

 

प्रस्तुत साहित्यानुशीलन लेखनको पृष्ठभूमि-

श्री अर्जुन प्रधान मेरा श्रद्धेय गुरु। कुनै बेला आफू नवौंदेखि बाह्रौं कक्षाको विद्यार्थी छँदा उहाँको छात्र हुने मैले पनि सौभाग्य पाएको हुँ, यसैले पनि म धन्य छु । हिजोको दिनहरूमा मात्र होइन आजसम्म पनि जुनै रूपमा भए पनि उहाँको छात्र हुन र भइरहन पाउनुमा मलाई गर्व छ । सन्ध्यारागदेखि निष्कर्षसम्म प्रकाशनमा आएका कृतिहरू आशीर्वादस्वरूप सरबाटै प्राप्त गरी मैले पढ्दै आएको हुँ । ती कृतिहरूबारे केही गतिलो समालोचना लेख्छु भन्ने मनमा विचार र टाउकोमा योजना हुँदाहुँदै पनि समय निकै नै बितेछ । कुनै बेला भने लेख्ने आँटै पुगेन र कुनै बेला भने आफूलाई समयको अपुग भइरह्यो । लेख्छु भनेर मात्र पनि कहाँ हुँदो रहेछ र, लेख्नका लागि त साइतै पो जुर्नु पर्ने रहेछ क्यारे ।

अर्जुन प्रधान

कवि अर्जुन प्रधानको काव्यिक लेखनयात्रा, काव्यगत शैलीशिल्पबारे लेख्छु भनेर कुनै बेला सिरूपात, सन्ध्याराग र निशानीका रेखाहरूका पानाहरू पल्टाएँ, पटक पटक पल्टाइरहेँ तर आफूले सोचेँ जस्तो गतिलो केही लेख्नै सकिनँ। कुनै समय भने आफूलाई अलिक जागँरिलो पार्न खोज्दै आजसम्म लेखिएका भूमिकाहरू सङ्कलन गर्ने योजना बनाएँ। सरका भूमिका छापिएका पुस्तकहरू र्‍याकबाट एकएक गर्दै मेरो पढ्ने टेबलमा थुपार्न थालेँ, दुई दिनमा मसित भएका पुस्तकहरूबाट- निकुञ्ज ध्वनि, मुक्तकीय आभा, समयले पोलेका डामहरू, अर्पण, यो मनको भाका, अन्तर्मनका रागहरू, अतीतका रङ्गहरू, केही सम्झना केही अर्चना, अमूर्त कण, सामवेदी स्वर, अवलोकन अवबोधन, अडिँदै जीवनका मोडहरूमा, फलेदो, कथाश्रम, जूनको हत्या, काव्य-मीमांसा, प्रीतिको फूल, उक्रोश स्वरहरू, सिर्जनाहरू बटुल-बाटुल, साहित्यसाधक मदन ओझा कोण-प्रतिकोणबाट चियाएर हेर्दा, अमूर्त भावहरू, अर्द्धवृत्त, कुल्चिइएका कोपिलाहरू, अहर्निश प्रतीक्षा, सम्झनाका थुँगाहरू, बदनाम कविता, निबन्धहार आदि पुस्तकहरू एकएक गर्दै मेरो पढ्ने टेबलमा थुप्रिए। उनका भूमिका छापिएका पुस्तकहरू सङ्कलन गर्नु अझै थियो तर मेरा टेबलमा थुप्रिएका भूमिकाहरू पढेपछि मात्र अरू पुस्तकहरू खोजौँला भन्ने मेरो विचार थियो। सरको भूमिका लेखनयात्रा, लेखनकारिता, भूमिका लेखनशिल्पशैलीबारे गहकिलो विमर्श गरेर एउटा लेख लेख्ने योजना पनि थाँतीमै रह्यो। के के तानाबानामा परेर भूमिकाबारेको लेख पनि पूर्ण गर्नै सकिनँ।

केहीसमयको अन्तरालपछि एप्रिल लिली, अनिँदो पहर, जुनेली पाखा, स्नेहराग, जीवनका केही पृष्ठ केही परिच्छेदका पृष्ठहरू पल्टाइरहेँ ।

डा. राजकुमार छेत्री

एउटा लेख होला होलाजस्तो केही त तयार हुँदै थियो तर यस अभिनन्दन ग्रन्थका प्रमुख सम्पादक किशन दाइले अनायास मलाई अर्कोतिर मोड्नुभो । किशन दाइले अहिलेलाई कविता र निबन्धबारे भन्दा पनि उहाँको समालोचनात्मक कृतिहरूबारे नै लेख लेख्नुहोस न भाइ भनेर प्रेमपूर्वक भातृसम्मित्उपदेश दिनथाल्नुभो। सम्पादकज्यूको स्नेहालु आग्रहमा समालोचक अर्जुन प्रधानका सम्पूर्ण समालोचना सङ्ग्रहहरूबारे अति सङ्क्षिप्तमा सूत्रात्मक शैलीमा सर्वेक्षणात्मक विमर्श गर्ने धृष्टता गर्दैछु। धृष्टता त गरेँ, तर यो निकै जटिल, श्रमसाद्य कार्य हो र यति छोटो समयावधिमा यो कार्य सम्पन्न गर्न सकिने विषय निश्चय नै होइन भन्ने कुरोको आफूलाई राम्रो हेक्का हुँदाहुँदै पनि सम्पादकज्यूले प्रेमपूर्वक गर्नुभएको आग्रहलाई त्यसै टार्ने आँट मैले गर्नै सकिनँ। सक्दिँन भन्न नसकेको र टार्न नसकेको त्यो निमुखा आँटलाई सकिनसकि बरू यसै काममा प्रयोग गरेँ । यसैले केही दिन निरन्तर यसैमा लागिरहेँ । लाग्न त लागेँ तर मेरो निम्ति सन्दर्भ विराट र व्यापक थियो र छ अहिले पनि।

समालोचक अर्जुन प्रधानको समग्र समालोचनाकारिता, समालोचनागत प्रवृत्ति र विशेषताहरू ठिम्याउन अर्थात् समालोचनात्मक प्रवत्ति निर्क्योल्न सानोतिनो आँटले सम्भव हुनै सक्दैन । यसको निम्ति जो कोही अध्येतामा निरन्तर मेहनत गर्नसक्ने शक्ति, गतिलो परिश्रम र भरलाग्दो फराकिलो अध्ययन र मूल्याङ्कन गर्ने क्षमता हुन नितान्त आवश्यक देखिन्छ । सायद मसित त्यत्रो क्षमता नभए पनि साँचो प्रयत्न चाहिँ यहाँ अवश्यै गरेको छु । तर यसै समयावधिमा स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालयका स्नातकोत्तर अन्तिम समिस्टरमा अध्ययनरत एकजना विद्यार्थीले मेरो शोध-निर्देशनमा अर्जुन प्रधानको समालोचना प्रवृत्तिः विश्लेषण तथा मूल्याङ्कन विषयमा लघु-शोध-प्रबन्ध तयार गर्दैछन् र उनलाई आफूले सकेजति सहयोग भने गर्दैछु।

श्री अर्जुन प्रधान १४ नम्बर १९५१ सालमा सुन्दर हरियाली नागरी फार्म चियाबारीमा भएको हो। अङ्ग्रेजी साहित्यमा एम. ए. र बि. एड. गर्नु भएका श्री प्रधानले सुरुमा विभिन्न प्राथमिक र निम्नमाध्यमिक विद्यालयहरूमा शिक्षण कार्य गर्नुभएको हो। आफ्नो जीवनको लामो कालखण्ड नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षण कार्य गरी अन्तमा भारप्राप्त प्रधानाचार्यको रूपमा रही सेवा निवृत्त हुनुभो।

अर्जुन प्रधानको साहित्यलेखन यात्राः एक परिचिति-

समालोचक अर्जुन प्रधानका हालसम्म सिर्जनाको सेरोफेरो (सन् २००७), विमर्शन (सन् २०१२), सन्धान नामा (सन् २०१४), आख्यानकोण (सन् २०१५), अन्तर्दृष्टि (सन् २०१६) र चिन्तनपथ (सन् २०१७), मननमार्ग (सन् २०१८), परखपृष्ठ (सन् २०१९) र निष्कर्ष (सन् २०२०) शिरोनामित नौवटा समालोचनात्मक कृतिहरू प्रकाशनमा आइसकेका छन्। यी नौवटा समालोचना सङ्ग्रहका अतिरिक्त गढ़ीदेखि मन्दिरसम्म शीर्षक सर्वेक्षणात्मक अध्ययन पनि सन् १९९० सालमा प्रकाशनमा आएको हो। यस सर्वेक्षणमूलक कृतिलाई पनि यसै अन्तर्गत समेट्दा समालोचनाकृतिको संख्या दस हुन आउँछ।

सिर्जनात्मक साहित्यलेखन अन्तर्गत एप्रिल लिली (निबन्ध सङ्ग्रह, सन् १९९९), अनिदो पहर (निबन्ध सङ्ग्रह सन् २००१), जुनेली रेखा (निबन्ध सङ्ग्रह, सन् २००२), स्नेहराग (निबन्ध सङ्ग्रह, सन् २००५), जीवनका केही पृष्ठ-केही परिच्छेद (संस्मरण सङ्गह) शीर्षकका पाँचवटा निबन्ध-संस्मरण कृतिहरू प्रकाशित छन्। समालोचना र निबन्ध लेखनका अतिरिक्त सिरूपात (सह-रचना, सन् १९८२), सन्ध्याराग (सन् १९९०) र निशानीका रेखाहरू (सन् २०१३) शीर्षकका तीनवटा कविता सङ्ग्रह पनि प्रकाशनमा आइसकेका छन्। श्री प्रधानले आजसम्म तीन-चार दर्जनजति विविध विधाका पुस्तकबारे समय-सान्दर्भिक गहकिला मूल्याङ्कनपरक भूमिकाहरू पनि लेखिसकेका छन्। सन् २०१० सालमा राङभाङ समवाय साहित्य सदनको सौजन्यमा ४० जना कविहरूको नेपाली कविताको अङ्ग्रेजी अनुवाद Poems of Humanity र सन् २०१३ मा प्रकाशित प्रा. तेजमान बराइलीको नेपाली काव्यकृति रूखको अङ्ग्रेजी अनुवाद The Tree पनि पाठक-समाजले प्राप्त गरिसकेका छन्।

साहित्यिक स्रष्टा-द्रष्टा श्री अर्जुन प्रधानले सिर्जनात्मक र समालोचना साहित्यका अतिरिक्त विभिन्न विषयमा साहित्य अकादमीलगायत अन्य साहित्यिक संस्थानहरूको निम्तोमा दर्जनौ पल्ट साहित्यिक वार्ताहरू पनि प्रस्तुत गरिसकेका छन्। अतः विभिन्न अवसरमा प्रस्तुत गरिएका वार्ताहरू मात्र सङ्कलन गर्न सकिए एउटा गतिलो सान्दर्भिक पुस्तक तयार हुन सक्छ। भूमिकाहरू पनि सङ्ग्रह गर्न पाए अझ एक-दुईवटा गतिला पुस्तक तयार हुने सम्भावना रहेको देखिन्छ।

अर्जुन प्रधानको साहित्यालोचन यात्राः सामान्य परिचयन-

गढ़ीदेखि मन्दिरसम्म (सर्वेक्षण) जुलाई सन् १९९० सालमा रेणुका प्रधान र सरूदेवी श्रेष्ठको प्रकाशन सौजन्यमा प्रकाशनमा आएको हो। यस सर्वेक्षणमूलक कृतिले नागरीको एतिहासिक पृष्ठभूमि, नागरी र यसको वरिपरिको साहित्यिक-शैक्षिक र सामाजिक-सांस्कृतिक गतिविधिलाई पनि समेट्न खोजेको छ। श्री प्रधानको प्रस्तुत कृतिलाई आधार बनाएर अर्थात् उनले खनेको गोरेटोलाई अनुसरण गर्दै कौशिल्या मुखिया (राङभाङ इलाकाः हिजो र आज), डि. के. श्रेष्ठ (राङभाङ इलाकाको साहित्यिक नालीबेली), लोक थापा (राङभाङ खोला किनार-पाखा साहित्य लेखन) र डा.राजकुमार छेत्री (साहित्यमा राङभाङ अञ्चलः हिजोदेखि आजसम्म) मध्ये अघिल्ला तीनवटा पुस्तकहरू प्रकाशनमा आइसकेका छन् भने डा. छेत्रीको पुस्तक प्रकाशनको तयारीमा रहेको जानकारी छ।

सत्यम् पिन्टर्स्, पोख्रेबोङबाट प्रकाशित सिर्जनाको सेरोफेरो कृतिअन्तर्गत जम्मा बीसवटा विविध विषयक लेखहरू सङ्गृहीत छन्। ती मध्ये निम्नलिखित दसवटा लेखहरूलाई मात्र समीक्षाको कोटीमा राख्न सकिन्छ- वेदनाको धनी मनका गीतहरू, शहीदको सम्झना आउँदा, प्रसङ्गमा विभ्रान्तिका कुराहरू, दूरस्थ कोणमा सधैँ एक्लो सुमन, कल्याणका कविता केही नालिशका केही आदर्शका, सन्नाटामा समेटिएका निकुञ्ज ध्वनिका रागहरू, आगोका झिल्काहरूमा दर्शनका दर्शिकाहरू, मैतराज राणा अनि उनको अन्योल वर्तमानःएक विचार, साहित्यकार पी.के.प्रधान अनि उनको गवैया र पहाड़। प्रस्तुत समीक्षाका शीर्षकहरू नै कवितात्मक स्वरुप र शैलीका ढाँचामा राखिएका छन्। यस किसिमका लेखनमा निबन्धमा समालोचना र समालोचनामा निबन्धको मिश्रित प्रवृत्तिको स्पष्ट स्वरुप देखिन्छ। यी समीक्षात्मक लेखहरू समालोचन लेखनयात्राको आरम्भ कालतिर लेखिएका हुनाले यसमा व्यक्ति र कृतिको परिचयात्मक, विवरणात्मक र निबन्धात्मक गुणको प्रमुखता रहेको पाइन्छ।

वर्षाना पब्लिकेशन, नागरी फार्मको सौजन्यमा प्रकाशित विमर्शनअन्तर्गत २१ वटा समालोचनाहरू सङ्कलित छन्। यसमा दसवटा कविता-काव्यकेन्द्री, छवटा आख्यानकेन्द्री, पाँचवटा निबन्ध-समालोचना केन्द्री समालोचनात्मक लेखहरू सङ्कलित छन्। सन्धान-नामाअन्तर्गत विविध विषयक १५ वटा समालोचनाहरू सङ्कलित छन्। यसमा आठवटा कविता-काव्यकेन्द्री, तीनवटा आख्यानकेन्द्री, चारवटा निबन्ध र नाटककेन्द्री समालोचनाहरू यसप्रकार छन्। यस्तै प्रकार आख्यान कोण-मा एघारवटा कथाकेन्द्री तथा चारवटा उपन्यासकेन्द्री गरी जम्मा १५ वटा समालोचनाहरू सङ्गृहीत छन्। अन्तर्दृष्टिअन्तर्गत १५ वटा विविध विषयक समालोचनाहरू सङ्कलित छन्। यसमा दसवटा कविता-काव्यकेन्द्री, चारवटा आख्यानकेन्द्री तथा एउटा निबन्धकेन्द्री समालोचनाहरू समाविष्ट रहेका छन्। चिन्तनपथ-मा विविध विषयक १४ वटा समालोचनाहरू सङ्कलित छन्। यसमा सातवटा कविता-काव्यकेन्द्री, छवटा निबन्ध र समालोचनाकेन्द्री तथा एउटा आख्यानकेन्द्री समालोचना सङ्गृहीत रहेका छन्। सम्बोधन पब्लिकेसन, नागरी फार्मबाट प्रकाशित तथा अखिल डिस्ट्रिब्युटर्स, नागरी फार्मको सौजन्यमा आएको मननमार्गअन्तर्गत १४ वटा समालोचनाहरू सङ्कलित छन्। यस समालोचना कृतिमा सातवटा कविता-काव्यकेन्द्री, तीनवटा निबन्ध केन्द्री तथा तीनवटा आख्यानकेन्द्री तथा एउटा नाट्यकेन्द्री समालोचना सङ्गृहीत रहेका छन्।

वर्षना पब्लिकेशन, नागरी फार्मबाट प्रकाशित परखपृष्ठमा १४ वटा समालोचनाहरू सङ्कलित छन्। यस कृतिमा आठवटा कविता-काव्यकेन्द्री, दुईवटा निबन्ध-संस्मरणकेन्द्री, तीनवटा गीत-गजलकेन्द्री समालोचना तथा एउटा आख्यानकेन्द्री समालोचनाहरू समाविष्ट रहेका छन् भने गोर्खा ज्योति प्रकाशन, मणिपुरद्वारा प्रकाशित निष्कर्षअन्तर्गत तेह्रवटा समालोचनाहरू सङ्कलित छन्। यस कृतिमा सातवटा संस्मरणकेन्द्री, दुईवटा काव्यकेन्द्री तथा चारवटा आख्यानकेन्द्री समालोचनाहरू सङ्कलित रहेका छन्।

अर्जुन प्रधानको समालोचनात्मक प्रवृत्तिः परिचयात्मक अनुशीलन-

समालोचक प्रधानका समग्र समालोचनाहरूलाई प्रभाववादी, व्यावहारिक, कृतिपरक र स्रष्टापरक समालोचनाका आधारमा वर्गीकरण गर्न सकिन्छ। तथापि यहाँ मैले अध्ययन सुविधाको निमित्त (१) काव्यकेन्द्री समालोचना, (२) आख्यानकेन्द्री समालोचना, (३) निबन्धकेन्द्री समालोचना तथा (४) नाट्य र व्यक्तित्वकेन्द्री समालोचना गरी चार वर्गमा वर्गीकरण गरेर अध्ययन-अनुशीलन गर्ने धृष्टता गरेको छु।

काव्यकेन्द्री समालोचना-

यस काव्य केन्द्री समालोचनाअन्तर्गत समालोचक अर्जनु प्रधानले अग्रज र स्थापित कवि मदन ओझाको आँसुपछिका आँखाहरूले हेर्दा (मदन ओझाको काव्यालोकमा फुलेका थरी थरीका सुनखरी), एसेम चौहानकृत सिरूपात, बासधराको माया (एसेम चौहान अनि उनका कविता कतिपय), बी.पी.मल्लरचित सामवेदी स्वर (बी.पी.मल्लका सामवेदी स्वर अनि तीनका केही अन्तराहरू) शीर्षक काव्यकृतिलाई आफ्नो अध्ययनमा समेटेका छन्। समकालीन भारतीय नेपाली कवितालेखनको विशेष सन्दर्भमा कवि ओझा, कवि चौहान र कवि मल्लका काव्यिक योगदानको विमर्श, काव्यचिन्तन, कविता र गीत लेखनगत शैली, काव्यिक संरचना, काव्यगत भाषिक विधान एवम् शैली-शिल्प-योजनाबारे अत्यन्त मेहनत पूर्वक गहकिलो प्रकाश पारिएको छ।

समालोचक प्रधानले कवि राजेन्द्र भण्डारी विरचित शब्दहरूको पुनर्वास (शब्दहरूको पुनर्वास-भित्र समयचेत, प्रकृति र नियतिः एक विमर्श), जीवन नामदुङरचित वैशाख, समारोह समारोहहरूमा (जीवन नामदुङका काव्यिक रचनाहरूमा समय संवेदन), मनप्रसाद सुब्बाकृत नेतिफूङको बास्ना (प्रणयकाव्य नेतिफूङको बास्नाः एम.पी.एस-को काव्यिक उपासना), भवजीत तामाङकृत भाव-अमृत, वृक्षसंवाद (साहित्यकार भवजीत तामाङका कृतिहरूमा बहुआयामी स्पर्श), विचन्द्र प्रधानविरचित विपश्चना, शून्य शून्य शन्य (विचन्द्रको काव्य सृजनामा जीवनको दर्शन-नामा) प्रभृति कविता कृतिको कवितात्मक संरचना, कथ्य र वस्तुसन्दर्भ, काव्यिक शैली-शिल्प, काव्यगत भाषिक-योजनाबारे गहकिलो अध्ययन प्रस्तुत गरिएको छ। कवितालेखनमा समकालीन समयसन्दर्भ, साहित्यिक-सांस्कृतिक तथा राजनैतिक पृष्ठभूमि, कवितामा जीवनको प्रतिविम्बन, चित्रकवितात्मक अभिव्यक्ति, काव्यात्मक विम्बको पनि समान्य अध्ययन र खोज गर्ने अभिष्ट राखेका छन्।

यसैक्रममा सचेन राई दुमीका प्रस्फूटन, श्रद्धाञ्जलि मायाञ्जलि (सचेन्द्रका कविताः एक वियोगीका अश्रुधारा), श्याम बान्तवाको विस्थापित व्यवस्था (श्याम बान्तवाका कवितामा विस्थापित व्यवस्थाका बूँदाहरू), अमर दुङमालीकृत सिमानाछेउ उभिएर (अमर दुङमालीको काव्यकृति सन्दर्भः सिमानाछेउ उभिएर), उदय सुब्बा वियोगीकृत अहर्निश प्रतीक्षा (अहर्निश प्रतीक्षाः वियोगीको मानवीय आस्था) प्रभृति कविहरूका उम्दा-उम्दा काव्यकृतिलाई आफ्नो अध्ययनमा समेटेका छन्। यसमा कवि दुमी, कवि बान्तवा, कवि दुङमाली र कवि वियोगीका कविता-साधना, काव्यप्रतिभा, कवितात्मक प्रवृत्ति र विशेषताबारे गहिरो अध्ययन-विश्लेषण प्रस्तुत गरिएको पाइन्छ। यसका साथै कवितामा समकालीन वस्तुसन्दर्भ, कवितात्मक वा काव्यगत अर्थको अनिर्धारण, कवितामा मानवमूल्य र मानवताको खोजी समेत गरिएको छ।

यसै अध्ययन क्रममा कवि-गीतकार जस योञ्जन प्यासीरचित बोलाऊँ भने तिमीलाई, एउटा खुल्ला किताब हुँ म (जस योञ्जन प्यासी-को एउटा खुल्ला उपहारः एउटा राग मल्हार), पूरण गिरीविरचित जिन्दगीका लयान्तर (कोही बोलीको रसैले रसमय-पूरण गिरीका लयान्तरहरू), ध्रुव चौहानकृत वेदनाको धनी यो मन (वेदनाको धनी मनका गीतहरू), कमल रेग्मीरचित घामपानी (नेपथ्यमा रेग्मीका रागहरू), कृष्ण पी ठटालकृत मनको दह (गजलकृति मनको दहः कृष्ण पी. ठटालको एक बकपत्र) आदि गीत-गजल कृतिहरूको अत्यन्त फराकिलो अध्ययन-विमर्श प्रस्तुत गरिएको छ। समसामयिक सन्दर्भमा भारतीय नेपाली गीत-गजल लेखनको विशेष समय र वस्तु-सन्दर्भ, काव्यात्मक मिथकीय प्रयोग, मानवीय अस्तित्वको खोजी तथा संस्कृति चेतनाको अभिव्यक्तिको खोज गर्ने दिशामा समालोचक प्रधान सचेत रहेका देखिन्छन्।

भारतीय नेपाली कविता लेखनमा आफ्नो छुट्टै स्थान बनाएका स्वनामधन्य कवि सतीस रसाइलीको तिमी भएको नभएको बेला (कवि सतीस रसाइलीका काव्यिक सौन्दर्यः एक मन्तव्य), शान्तप्रकाश राईको भीरफूल (एक अवलोकनमा शान्तप्रकाश राईको काव्यकृति-भीरफूल), बालकृष्ण थामीको बफरिङ जिन्दगी (बालकृष्ण थामीको कविता बान्कीः सन्दर्भ-बफरिङ जिन्दगी), पूर्ण योञ्जनको भूइँमा झ्याँगिने अक्षरहरू (पूर्ण योञ्जनको काव्यकृतिः भूइँमा झ्याँगिने अक्षरहरू-को अन्तर्लावण्य), पूर्ण बान्तवाको घाइते समय र उद्‍बोधनका धूनहरू, मनोज लामाका उन्मुक्ति, कथाले लिपेका कविताहरू कविताभित्रका कथाहरू (मनोज लामाका काव्यकृतिहरूमा व्याप्त केही प्रखर स्वरहरू) र पी.के. प्रधानको गवैया र पहाड (साहित्यकार पी.के.प्रधान अनि उनको गवैया र पहाड़) प्रभृति कविका काव्य कृतिलाई अनुशीलनमा ल्याइएको छ। प्रस्तुत समालोचनात्मक लेखहरूमा भारतीय नेपाली कविहरू सतीश रसाइली, पूर्ण योञ्जन, मनोज लामा, शान्तप्रकाश राई, बालकृष्ण थामी, तेजमान बराइली, पी.के.प्रधान आदि जस्ता कविका कवितागत नयाँ सोंच विचार र नयाँ आयामगत पृष्ठभूमि, काव्यिक संरचना, काव्यगत शिल्प-शैली र विशेषताहरूबारे फराकिलो अध्ययन-विश्लेषण गरिएको छ। यसका अतिरिक्त श्री प्रधानले आजका कविताको भाषाशैलीय विन्यास, युगीन विश्वसमस्याको अभिव्यक्ति, मानव संवेदनहीनता, कवितामा विसङ्गतिबोध र मानवीय अस्तित्वको खोजी समेत गरेका छन्।

सोही क्रममा भारतीय नेपाली कविता लेखनमा निकै सक्रियतासाथ देखा परेका स्थापित र नवोदित नारी सर्जकहरूमा स्नेहलता राईको मनसँग साउती गर्दै (स्नेहलता राईको कविता कृति मनसँग साउती गर्दै-माथि साउतीमै साना कुराहरू), चन्द्र बानुछाको चन्द्र बानुछाका कविताहरू (कविताहरूमा चन्द्र बानुछा), शीला लामाको विस्मृत स्मृति (विस्मृत स्मृतिः समयको साक्ष्यमा शीला लामाको हस्ताक्षर), कमला राईको समयका पाइलाहरू (कमला राईको काव्यकृति समयका पाइलाहरू-मा समकाल लेखन प्रवृत्ति), गीता छेत्रीको गंगोत्रीका छालहरू (गीता छेत्री तपस्या-को तपोभूमि गंगोत्री अनि तिनका छालहरू), कमला तामाङको अक्षरयात्रा (अक्षरयात्रा-कमला तामाङको कविताकृतिः जीवनयात्राको एक उदात्त विवृत्ति), मणिका मुखियाको क्षितिज हराएपछि (क्षितिज हराएपछि र अन्य कृतिहरूमा मणिका मुखिया), लक्ष्मी मिनूको मिर्मिरेका अनुभूतिहरू (लक्ष्मी मिनूका मानवीय दस्तावेजः मिर्मिरेका अनुभूतिहरू) प्रभृति नारी कविहरूका काव्यकृतिका विस्तृत अध्ययन-विश्लेषणका साथसाथै उनीहरूको काव्यिक चिन्तन, काव्यिक शिल्प-विधान, कवितात्मक संरचना परिपाटी, कविता लेखनगत भाषिक-योजना, रचनागत अवधारणाहरूको समेत यथोचित अवलोकन एवम् मूल्याङ्कन गरिएको छ। साथै नारीवादी दृष्टिकोण, नारीवादी चेतना, नारी अस्मिताको खोजी, समावेशी अभिव्यक्तिमा अभिरूचि रहेको देखिन्छ।

यसै परिप्रेक्ष्यमा कवि सुषमा मोक्तानको उन्मुक्तिका चाहना (सुषमा मोक्तानको उन्मुक्तिका चाहनाः बिर्सनेलाई एउटा सम्झना), कवि सुभद्र बम्जन सावलीको वेदनाको स्केच (वेदनाको स्केचः सावालीको सेल्फ पोट्रेट), कवि सविता सङ्कल्पको मनान्दोलन (काव्याकृति मनान्दोलन-को आलोकमा सविता सङ्कल्पको सृजनासाधना) र कवि शारदा स्टेफीको अस्तित्वको अनुहार (शारदा स्टेफीको काव्य रचना अस्तित्वको अनुहारः एक विचार) र सिर्जना सुब्बाकृत Fragments, Fossils (सृजना सुब्बाका दुई अङ्ग्रेजी काव्यकृतिः एक विवृत्ति) प्रभृति सशक्त नारी प्रतिभा र उनीहरूका विवेच्य कविता कृतिहरूको गहिरो र फराकिलो काव्यिक विमर्श गरिएको छ। प्रभृति कविहरूका उम्दा-उम्दा काव्यकृतिहरूबारे विस्तारपूर्वक काव्यिक अनुशीलन गरिएको छ। उनीहरूका काव्यलेखनगत मूल्य र मान्यता, काव्यिक सिर्जना-सन्दर्भ, कवितात्मक शिल्प-संरचना, काव्यिक भाषिक-संयोजन, काव्यिक परिवेश-विधानबारे निकै गहकिलो र लोभलाग्दो अनुशीलन गरिएको छ।

समकालीन कविता लेखनका विविध आयामलाई आत्मसाथ गर्दै आफ्नो दरिलो-भरिलो र गहकिलो उपस्थिति दिँदै कविता लेखनमा सरिक रहेका समकालीन कविहरूमा प्रवीण राई जुमेलीको इम्पास्टो अक्षर (इम्पास्टो अक्षर-मा उत्तर इम्प्रेनिष्ट जुमेली), कवि सञ्जय बान्तवाका विसंगतिमा भिक्टिम्स् कविताहरू, मोहदंश, महाभिनिष्क्रमण, शब्ददाह (सञ्जय बान्तवा अनि उनको काव्य साधना), किशन प्रधानको निकुञ्ज ध्वनि (सन्नाटामा समेटिएका निकुञ्ज ध्वनिका रागहरू), कवि जय क्याक्ट्सको विश्वासको घर (जय क्याक्ट्सको मरूभूमिमा एउटा विश्वासको घर), कवि वसन्तको अक्षर मात्र (काव्यकृति अक्षर मात्रः बसन्तको अप्रतिम उपासना), भूपाल सुब्बाको चिया-जीवन (भूपाल सुब्बाका कविताकृति चिया-जीवनः एक मूल्याङ्कन), विनोद रसाइलीकृत आगोको ठिही (विनोद रसाइलीको काव्यलोकमा आगोको ठिही), गोकुल रसाइलीको यथाक्रम, जोगेन दर्नालको घुम्तीहरू (जीवनको अर्को घुम्तीमा रचनाकार जोगेन दर्नाल) प्रभृति कविका प्रतिनिधि काव्यकृतिहरूबारे अति गहन अध्ययन-विश्लेषण गरेका छन्। अतः समकालीन भारतीय नेपाली कविहरूमा आफ्नो छुट्टै किसिमको शिल्प-शैली र संरचना, काव्यिक-विधानमा अभिरूचि राख्ने स्वनामधन्य कवि प्रतिभाहरू प्रवीण जुमेली, सञ्जय बान्तवा, किशन प्रधान, जय क्याक्ट्स, भूपाल सुब्बा, जोगेन दर्नाल, उदय सुब्बा, वसन्त र विनोद रसाइलीको काव्यिक सिर्जनाबारे, कविताको नवीन आयाम र स्वरूप, काव्यिक संरचना-स्वरूप, भाषिक शिल्प-योजना, वस्तु-विधानबारे निकै गहिरो अध्ययन-विमर्श गरिएको छ। समकालीन कविहरूका विवेच्य काव्यकृतिहरूबारे सर्वदृष्टिकोणबाट काव्यिक विमर्श तथा यथोचित मूल्याङ्कन समेत प्रस्तुत गरिएको छ।

काव्यिक विश्लेषण र मूल्याङ्कनको क्रममा कवि पवन नामदुङ, सुमन बान्तवा, वीणा हाङखिम, वीणाश्री खरेल, ध्रुव चौहान, सुकराज दियाली आदिका कविता-मुक्तक लेखनबारे एउटा लेखले मात्र नपुगेर दुई-दुईवटा लेखहरू तयार पारी आफ्ना समालोचना कृतिहरूमा समावेश गरेका छन्। युवाकवि बान्तवाबारे दूरस्थ कोणमा सधैँ एक्लो सुमन र दूरस्थ कोणमा अझै एक्लो सुमन शीर्षकमा दुईवटा समालोचनात्मक लेखहरू लेखिएका छन् । यी लेखमा कवि बान्तवाका शैलीपथ, इह र घामछाया सङ्ग्रहका कविताहरूबारे अनुशीलन गरिएको छ । कवि वीणा हाङ्खिमका कवितालेखनबारे पनि वीणा हाङखिमका काव्य साधनाः एक विवेचना तथा काव्यकृति उज्यालो पोखिएपछि-भित्र डा. वीणा हाङखिमको जीवनवीणाका रागहरू शीर्षकका दुईवटा खँदिला समालोचनाहरू समाविष्ट रहेको देखिन्छ । यी दुई लेखहरूमा समालोचक प्रधानले कवि हाङ्खिमका भावानुभाव, अन्तर समयान्तर र उज्यालो पोखिएपछि शिरोनामित कविता सङ्ग्रहहरूबारे फराकिलो विमर्श प्रस्तुत गरेका छन्। नेपाली कविताको विविध पक्षको विश्लेषण, आजको कवितामा देखिने कोशीय, प्रयुक्तिगत विचलनको प्रसङ्ग तथा समाज-सांस्कृतिक सन्दर्भको समेत सक्दो अनुसन्धान गरिएको भेटिन्छ।

यसरी नै वेदनाको धनी मनका गीतहरू तथा ध्रुव चौहानको पेटेन्ट आँसु-चियाबारी अनि हर्कबीरहरू शीर्षक दुई समालोचनामा गीत सङ्ग्रह वेदनाको धनी यो मन र चियाबारीको कथ्यलाई पृष्ठभूमि बनाई लेखिएको श्रृङ्खला कविता पेटेन्ट आँसुबारे राम्रो अध्ययन प्रस्तुत गरिएको छ । यस्तै प्रकार कवि वीणाश्री खरेल (वीणाश्री अनि उनको काव्य साधना तथा वीणाश्री खरेलको काव्यकृति शेष-अवशेष-मा सान्ध्य लालिमा), कवि पवन राई (दुख्दो छ समयले पोलेका डामहरू र एक विहङ्गम दृष्टिमा तथाता-को पार्श्वभूमि) र कवि सुकराज दियाली (प्रसङ्गमा विभ्रान्तिका कुराहरू र साहित्यकार सुकराज दियालीः व्यक्तित्व र कृतित्व) आदि कविका काव्यकृति तथा साहित्य साधना, काव्यिक अवधारणाको अध्ययन-मूल्याङ्कन गर्न दुई-दुईवटा समालोचनाहरू लेखिएका छन्। समालोचक श्री प्रधानले सङ्क्षिप्तमा समकालीन नेपाली कवितामा समय र वस्तुसन्दर्भ, काव्यात्मक सामाजिक-सांस्कृतिक पृष्ठभूमि, काव्यात्मक विम्ब र मिथकीय सन्दर्भ, कविताको भाषाशैलीय विन्यासको खोज र अध्ययन समेत गरेका छन्।

यसै अध्ययनक्रममा युवाकवि सुरज रोसुरि (कविता कृति धुवाँ-सुरज रोसुरिको काव्यिक अनुशीलनः एक दृष्टिकोण), कवि गोकूल रसाइली (गोकुल रसाइलीको काव्यिक यात्राक्रममा यो यथाक्रम), कवि सचिन खवास (एक दृष्टिमा सचिन खवासको म दार्जीलिङभित्र दार्जीलिङ खोज्दैछु), कवि राजेन्द्र पासा (राजेन्द्र पाशा-को अन्तर्मनका रागहरूः जीवनका संवादहरू), कवि-मुक्तककार रणजित गुरूङ (एक दृष्टिमा रणजीत गुरूङको कृति- सूर्य दृष्टि), कवि-गीतकार मैतराज राणा (मैतराज राणा अनि उनको अन्योल वर्तमानः एक विचार), कवि कल्याण गुरूङ (कल्याणका कविता केही नालिशका केही आदर्शका), मुक्तककार शरण राई (आगोका झिल्काहरूमा दर्शनका दर्शिकाहरू) प्रभृतिका कविता-मुक्तक कृतिहरूको विमर्शलाई दृष्टान्तका रूपमा लिन सकिन्छ। यसका साथै Mongolian Aqua (सुकान्तका शब्दहरू), Fragments, Fossils जस्ता अङ्ग्रेजी भाषामा लेखिएका कविताकृतिलाई नेपाली भाषी पाठकका निम्ति सहजै बुझ्न सकिने प्रकारले व्याख्या-विश्लेषण गरी यथोचित मूल्याङ्कन गरेका छन्। यी कविता कृतिहरूमा नारी अस्मिता र समावेशी चेतना, आजको कविता लेखनमा भाषिकागत र व्याकरणिक विचलनको सन्दर्भ, कवितामा प्रयुक्तिगत विविधताको विश्लेषण गर्ने कोसिस गरेका छन्।

प्रतिभाशाली युवाकवि सुरज रोसुरिको काव्यिक विर्मशमा समालोचक श्री प्रधान लेख्छन्- ‘सुरज रोसुरिका कविताहरूले पारम्परिक कतिपय भावभूमि र नव्यताको प्रखरतालाई सराबरी गरी आलम्बन गरेका छन् र परम्परालाई धरोहर सिद्ध गरेका छन्। प्रयोगको हिसाबले अब पुरानिँदै गएका परम्पराहरू धराशायी अवश्यै हुन्छन्, सके भूमिसात पनि होलान् । तथापि उही परम्पराको जन्मान्तर नयाँ अमुरमा प्रतिविम्वित हुन्छन् नै। फेरि फिनिक्सको जन्म हुन्छ। खण्डित परम्पराको बीजाणुबाट नै प्रतिभाले जन्म लिन्छ र त्यस आधारमा अडेस लागेर खेतबारीलाई पुनः लह लह बनाउँदछ।…प्रकृतिको नियम जीवनको नियम हो। घमाइलो रमाइलो मौसम पृथ्वीमा व्याप्त हुनु हो भने त्यसअघिको आँधी हुरी र असिनापात आत्मसात गर्नै पर्छ। भनिएको छ- हरेक परिवर्त्तन असलको निम्ति हुँदछ । प्रचण्ड गर्मी र कठ्याँग्रिने ठिहीपछि नातिशीतोष्ण ऋतु अपरिहार्य हुन्छ नै। एउटा सुन्दर सुव्यवस्था निर्धारण हुनको निम्ति वर्त्तमान व्यवस्था भताभुङ्ग नभई हुँदैन। कवितामा पनि त्यसरी सुरज रोसुरिहरूको प्रतिभाझैँ फिनिक्सले अवतार लिँदछ।… धुवाँ नयाँ निर्माणको एउटा प्रयुक्ति हो । यसमा भाव पक्षका भावालु कोमलता र व्यवहार पक्षका युगीन तीक्ष्णता समभावले समाहित छन्।’

आख्यानकेन्द्री समालोचना-

आख्यानकेन्द्री समालोचनाअन्तर्गत कथा र उपन्यास विषयक समालोचनाहरू समेटिएका छन् । कथाकार शरद् छेत्रीको सूर्य स्नान (सूर्य स्नान-मा शरद् छेत्रीका कथावस्तु), गुप्त प्रधानको समयका प्रतिबिम्बहरू (समयका प्रतिबिम्बहरूमा गुप्त प्रधानको कथाकारिता), माधव बुढाथोकीको नयाँ घर (माधव बुढ़ाथोकीको कथाकृति नयाँ घरः चियाबारीमा बिहानीको पहर), उदय सुब्बा गोर्खाको नयाँ साल र जैमतीका सपनाहरू (उदय सुब्बा गोर्खा-को कथाकृति अनि हाम्री जैमती), वीरभद्र कार्कीढोलीको समय र रागहरू (वीरभद्र कार्कीढोलीकृत समय र रागहरू-भित्रका मार्मिक स्वरहरू) र पी.टी यल्मोको सावित्री (पी.टी.यल्मोको कथाकृति सावित्री-मा बहुआयामी स्वर प्रवृत्ति) शीर्षक कथाकृतिभित्र पाइने नौलो स्वर र शैलीको सन्धान गरेका छन्। समालोचक श्री प्रधानले समकालीन नेपाली कथालेखनको विशेष सन्दर्भमा उपरोक्त कथाकारका कथाको रचनाविधान, कथात्मक भावपरिमण्डल तथा कथामा समाज-सांस्कृतिक सन्दर्भको खोजमा आफूलाई अग्रसर तुल्याएका छन् ।

यसै परिप्रेक्ष्यमा कथाकार कमल चामलिङको प्रीतिको फूल (कथाकार कमल चामलिङक सृजना फूलः प्रीतिको फूल), धनवीर पुरीको (कथा लेखनमा आधुनिकताः सन्दर्भ धनवीर पुरीका केही कथाहरू), गोपीचन्द्र प्रधानको धरती (प्रसङ्गमा गोपीचन्द्र प्रधानको कथा धरती), नवीन पतझडको कथामन (नवीन पतझड सिलासको कथामनः एक विवेचन) र रणजीत सुब्बालिखित कथान्तर (रणजीत सुब्बाको कथान्तरः एक प्रयोग) अन्तर्गत भेटिने कथालेखनगत प्रवृत्ति र विशेषताहरूको राम्रो समीक्षण गरिएको छ। यसका साथै युवासर्जक ध्रुव चौहानको खोल (ध्रुव चौहानको कथासङ्ग्रह खोलः एक लघु शल्यक्रिया), राजेन्द्र ढकालको बालुवाको घर (राजेन्द्र ढकालको कथामा बलौटे बगर अनि बालुवाको घर), शिबु छेत्रीको नयाँ जुत्ता (शिबु छेत्रीको नयाँ जुत्ता वर्काईफर्काई हेर्दै लाँदा) प्रभृति कथाकारहरूका नवीनतम कथाकृतिहरूबारे समालोचक श्री प्रधानले निकै प्रेरणादायी, भरपर्दो तथा समयसान्दर्भिक साहित्यानुशीलन गरेका छन्। यसका साथै समकालीन नेपाली कथाका अङ्गीभूत सन्दर्भहरू, कथाको संरचनात्मक एकाइ, कथानक रूढि तथा ढाँचापरकताको खोजमा विशेष अभिरूचि देखाएका छन्।

कथालेखनको नयाँ आयाम र परिपाटीमा अधिक सचेत रही निरन्तर कथालेखनमा सिर्जनारत रहनेहरूमा कथासर्जक शमसेर अलीको बिउ भाले (एक दृष्टिमा शमसेर अलीका कतिपय कथाहरू), पवन नामदुङको सिमानाको रूख (पवन नामदुङको कथाकृति सिमानाको रूखः समीपबाट हेर्दा) र सञ्जय विष्टको शब्दान्त (सञ्जय विष्टको शब्दान्त- इतर उत्तर खोज्दा), सिद्धार्थ राईको शून्यताको यात्रामा (शून्यताको यात्रामाः सिद्धार्थ राईको कथा साधना), उदय थुलुङको अक्षरेखा (अक्षरेखा-मा रेखाङ्कित उदय थुलुङको कथाकारिता) र सोनाम छिरिङको निदाउन नसकेका रातहरू (केही उदात्त कथाहरूमा साहित्यकार सोनाम छिरिङ)-का कथाहरूमा भेटिने नयाँ बान्की, लेखनगत नवीन ढाँचा र प्रस्तुतिकरणगत नयाँ शैलीको खोज-अनुसन्धान गरिएको छ । दृष्टान्त स्वरूप थुलुङको अक्षरेखाका कथाहरूको सन्दर्भमा श्री प्रधान यसप्रकार लेख्छन्- ‘उदय थुलुङको कथाकृति अक्षरेखा-मा सङ्गृहीत यावत् कथाहरूले तिनका बान्की र बुनोट, तिनका संरचनागत परिपाटी र तिनका प्रवृत्तिको हिसाबले उत्तरवर्ती ढप आलम्बन गरेका छन् । अधिकतर कथाहरू पराख्यानात्मक छन्। कथाहरू एउटै प्रवाहमा, एउटै वेगमा प्रवाहित छैनन्। कथाका कतिपय परम्परित मानकहरू यहाँ आइपुगेर धराशायी भएका छन्। एउटा नवीनताको, एउटा ताजापनको, नयाँ केहीको आग्रह पृष्ठभरि पाइन्छन् । यथार्थ र फिक्सनको संयोजनले अझ त्यसमा पनि भनौँ अघिका लेखनमा आएका चरित्रहरूलाई टिपेर ल्याएर कथामा पुनर्स्थापन गरिएकोले, अघिका आख्यानका पुनर्लेखन गरिएकोले, ऐतिहासिक र मिथकीय पात्र-पात्रालाई समकालीन सन्दर्भमा उभ्याइएकाले, एक प्रकारले पुराना र नयाँका मिश्रणले, तिनका अन्तर्घुलनले गर्दा कथाहरू हिस्टोरियाग्राफिक मेट्मिक्सन हुन पुगेका छन्।’

स्थापित र युवा भारतीय नेपाली नारी कथाकारहरूमा रीता ठकुरीको कोलाहलभित्रको स्पन्दन (रीता ठकुरीका कथाहरूमा भिन्न स्वरहरू), साङ्मू लेप्चाको अव्यक्त कथा (साङ्‍मू लेप्चाका केही मार्मिक कथाहरू), नीना राईको अन्तर्दृष्टिका रङ्गहरू (नीना राईको कथा साधनाः एक विवेचना), कौशिल्या मुखियाको दृष्टि (एक दृष्टिमा कौशिल्या मुखियाको कथाकृति दृष्टि) र नीरा सुब्बाको बिस्कुन (नीरा सुब्बाको कथाकृति बिस्कुनः एक निफन-नाफन) शीर्षक कथाकृतिमा नयाँ विषयवस्तुको खोज छ, नवीन कथाशैली-शिल्पको अनुसन्धान गरिएको छ। यसका साथै उपन्यासकार राजबहादुर राईको रङदु कमानको परिवेशभित्र (एक अवलोकनमा राजबहादुर राईको उपन्यासः रङदु कमानको परिवेशभित्र), प्रेम प्रधानको उदासीन रूखहरू (प्रेम प्रधानको उपन्यास उदासीन रूखहरू-को छेलमा), प्रेम गुरूङको अमूर्त कण (प्रेम गुरूङको उपन्यास अमूर्त कणः एक बयान), एम. डी. कार्कीको सिंहासन (एम.डी. कार्कीको उपन्यास सिंहासनः एकादेशको एक सिंहावलोकन) प्रभृति उपन्यासकारहरूका औपन्यासिक लेखन प्रवृत्ति तथा उपन्यासको शिल्प-संरचनाबारे गम्भीर अध्ययन-चिन्तन तथा गहकिलो अध्ययन-विश्लेषण प्रस्तुत गरिएको छ । वस्तुतः उपरोक्त आख्यान कृतिहरूको विषयसम्पादन, मिश्रित प्रवृत्ति तथा सारवस्तुमूलक सन्दर्भतिर पनि समालोचक प्रधानको विशेष अभिरूचि रहेको देखिन्छ।

आख्यानकार विन्द्या सुब्बा, राधा रसाइली र कालूसिंह रनपहेलीका आख्यान कृतिहरूबारे लेखिएका दरिला-भरिला दुईदुईवटा समालोचनाहरू यहाँ सङ्गृहीत छन्। आख्यानकार सुब्बाकृत कथाकृति शीतलहर (विन्द्या सुब्बाको कथाहार शीतलहर- एक अश्रुधार) र सीमान्त (विन्द्या सुब्बाको उपन्यास-सीमान्तमा बहुआयामी स्वर-प्रवृत्ति) उपन्यासबारे लेखिएका दुईवटा स्तरीय समालोचनाहरू समाविष्ट रहेका छन्। उपन्यासकार राधा रसाइलीकृत दुईवटा औपन्यासिक कृति त्याग (आँसुका ढिकाहरूले निर्मित राधा रसाइलीको उपन्यास-त्याग) र अर्पण (राधा रसाइलीको पाँचौ उपन्यासकृति अर्पण-को वरिपरि)-बारे विस्तृत अध्ययन-विश्लेषण प्रस्तुत गरिएको छ। कथाकार रनपंहेलीका दुईवटा कथाकृति प्रश्नचिह्न (कथाकृति प्रश्नचिन्हः रनपहेँलीको भिन्न सृजनाचिन्ह) र च्यातिएका पृष्ठहरू (रनपहेँलीको कथाकृति च्यातिएका पृष्ठहरू बटुलेर हेर्दा)-भित्र समेटिएका कथाहरूलाई समीक्षण गरी दुईवटा गहकिला समालोचनाहरू लेखिएका छन् । यी कृतिबारे विस्तृत अवलोकनसहित यथोचित मूल्याङ्कन गरिएको छ ।

निबन्धकेन्द्री समालोचना-

यस अन्तर्गत संस्मरण, निबन्ध र समालोचनालाई समेट्न सकिन्छ । भारतीय नेपाली साहित्यमा प्रतिष्ठित नारी सर्जकहरू मटिल्डा राईको जीवनका केही रेखा केही रङ्ग (बाल्यकालका दिन सुनौलाः मटिल्डा राईको संस्मरणमा, लेखिका मटिल्डा राई अनि उनका मनका किरिङमिरिङहरू), मुन्नु गौतमको मुक्त संवाद (कृति मुक्त संवादः मुन्नु गौतमको श्रेष्ठ संवाद), युवराज काफ्लेको ध्वनि प्रतिध्वनि (युवराज काफ्लेको ध्वनि प्रतिध्वनिः एक मन्तव्य), एम.पथिकको लोक साहित्य र संस्कृतिका झलकहरू (पथिकको संयोजनमा संस्कृतिका झलकहरू), कृष्ण प्रधानको डरको हाउगुजी (कृष्ण प्रधानको कृति डरको हाउगुजीः एक परिचिति), विमल राईका फुटेका वाक्केहरू (एक लघु विवेचनमा विमल राईको फुटेका वाक्केहरू) र र्‍याण्डम राइटिङ (र्‍याण्डम राइटिङः विमल राईका काम सुनौला) आदि निबन्ध कृतिहरूबारे तथा उनीहरूका निबन्धलेखनमा देखिने नवीन संरचनाशिल्प र नैबन्धिक शैलीबारे विस्तृत विमर्शन गरिएको छ । साहित्यमा व्यङ्ग्य, हास्यव्यङ्ग्यका स्वरुपगत मिश्रित प्रवृत्ति र विशेषताहरूबारे पनि प्रकाश पारिएको छ। अझ यसमा मटिल्डा राई र विमल राईका निबन्धलेखन सम्बन्धमा दुई-दुईवटा गहकिला अध्ययन-पत्रहरू परेका छन्।

संस्मरणलेखनमा राम्रो हात बसाएका आर. के. प्रधानको केही सम्झना केही अर्चना (आर. के. प्रधानः उनकै सम्झनाका पाखा पखेरामा), एम.एल. दियालको अतीतदेखि वर्त्तमानसम्म (अतीतका त्यी दिन सुरम्यः एम. एल दियालीको संस्मरणमा), सचेन राई दुमीको अतितका रंगहरूः जीवनको प्रथम दुई दशक (समयको कठघरा अनि सचेन्द्र राई दुमीको बकपत्र), किशन प्रधानको अड़िँदै जीवनका मोडहरूमा (अड़िँदै जीवनका मोडहरूमा- किशन प्रधानका सुनौला संस्मरण), विजय बान्तवा कैलाशीको क्षितिज खोज्दै (क्षितिज खोज्दै कैलाशसम्मै-परिव्राजक विजय बान्तवा कैलाशी-सँगसँगै), एस.के.बान्तवाको सम्झनाका थुङ्गाहरू (सम्झनाका थुङ्गाहरू-मा सुनौलारूपौला सारा सम्झनाहरू) प्रभृति निबन्धकारहरूका कृतिबारे विश्लेषणात्मक मूल्याङ्कन गरेका छन्। संस्मरणमूलक लेखनमा पाइने आत्मगत निबन्धतत्त्वको खोज र अनुसन्धान निकै लोभलाग्दो र फराकिलो ढङ्गमा गरिएको छ। समकालीन नेपाली निबन्धलेखनको विशेष सन्दर्भमा संस्मरण लेखनको वस्तुविधान, अन्य विधासित यसको अभिधात्मक अन्तर्सम्बन्ध तथा प्रवृत्तिगत विशेषताहरूबारे धेरथोर प्रकाश पारिएको छ।

साहित्यमा संस्मरणलेखनको महत्त्व र औचित्यबारे पनि संक्षेपमा प्रकाश पार्दै समालोचक श्री प्रधान संस्मरणकृति अड़िँदै जीवनका मोडहरूमा-को सन्दर्भमा यसप्रकार लेख्छन्- ‘संस्मरण लेखन त जीवनको दर्शन हो-यसले पाठकलाई सहजरूपले जीवनको कटु सत्यसित परिचय गराउँदछ, सहजताको ज्ञान गराउँदछ । हामी जीवन बाँच्न सकौँ सहजतामा-संस्मरणले हामीलाई सिकाउने रहेछ। किनभने यावत् वस्तुहरू सहजताले परिवर्त्तनशील छन्, अनित्य छन्, क्षणभङ्गुर छन्। संस्मरणले भन्न खोज्छ- जीवनको रमाइलो पनि त्यहीँ क्षणभङ्गुरतामा हामीले फेला पार्नु छ । जीवनको सौन्दर्य लुकेर बस्ने ठाँउ पनि त्यही अनित्यता नै हो। बिहान ढक्कमक्क फुलेको सूर्यमुखी फूल साँझ ओल्हँदा वैलेर झर्छ। सूर्यमुखीको सौन्दर्य त्यसको त्यही क्षणिकतामा भेट्नु छ। संस्मरणको सन्देशले वास्तवमा त्यही भनेको लाग्दछ। बग्दो जीवनको अविरलता त्यही सहजतामा निहित छ। त्यसो र संस्मरणले एउटा अमूल्य अवदान के पनि दिन्छ भने त्यही सहजताको सप्को समातेर हामी वृद्धावस्थाको कठिन यात्रामा उक्लन सक्छौँ। आफ्ना अनमोल अनुभव र ज्ञान गुणले परिपूर्ण वृद्धकालको सौन्दर्य समात्न हामी सक्षम हुँदछौँ । यसरी अर्थपूर्ण हुँदछन् सबै संस्मरणहरू।…

संस्मरण विधाका यिनै बुँदाहरूलाई समेटेर यसपल्ट हाम्रा राङभाङ भेल्लीका साहित्यकार किशन प्रधानको अर्को थप संस्मरण कृति हामी पाठकसमक्ष आएको छ। यस सुन्दर कृतिमा संस्मरणकारले जीवन यात्राको मोडहरूमा अड़ी अड़ी अघि बढेका, रमाइला पलका रमाइला झल्काहरू जतन गर्दै आएका, अब सम्झनामा मात्र रहने अतितका घटना संघटनाहरू आफ्ना श्रीसम्पत्ति हुनगएका मान्यताहरूले पृष्ठहरू परिपूर्ण पारेका छन् । यसरी जीवनका मोडहरूमा बारम्बार बिर्सनै नसकिने पल क्षणहरू हात लाग्छन् र तिनले जीवनलाई अरू श्रृङ्गार गर्छन् भन्ने कुरोको टुंगो पार्न लेखकका लगभग सबै समाहित संस्मरण लेखहरू सक्षम छन्।’

समालोचक प्रधानले काव्य (कविता, गीत, गजल, हाइकु, तीहक, मुक्तक), आख्यान (कथा, उपन्यास), नाट्य (पूर्णाङ्की, एकाङ्की) तथा निबन्ध (संस्मरण, नियात्रा, समालोचना) सबै विधाका कृतिहरूबारे आफ्नो समालोचकीय कलम चलाएका छन् । यसअन्तर्गत समालोचक-निबन्धकार मोहन ठकुरी, गुप्त प्रधान, हरेन आले, डा.राजकुमार छेत्री र प्रा. विनेश प्रधानका कृतिबारे अत्यन्त फराकिलो, गहिरो र भरपर्दो अध्ययन-अनुशीलन गरेका छन्। साहित्य अन्वेषक श्री गुप्त प्रधानको धूमिल पृष्ठहरू (गुप्त प्रधानको अन्वेषण कृति-धूमिल पृष्ठहरू ठम्याइटोपल्दा), नैबन्धिक शैलीका समालोचक श्री मोहन ठकुरीको सर्जक सन्दर्भ (मोहन ठकुरीको सर्जक सन्दर्भः एक मन्तव्य), श्री हरेन आलेको सिर्जनाको वरिपरि (झ्यालबाट हरेन आलेको सिर्जनाको वरिपरि हेर्दा), डा.राजकुमार छेत्रीको अवलोकन अवबोधन (डा.राजकुमार छेत्रीको अवलोकन अवबोधन-माथि थप मन्थन) र प्रा.विनेश प्रधानको कृति अधीति (चर्चामा प्रा. विनेश प्रधानको कृति कृति अधीति) प्रभृति कृतिहरूबारे आफ्नो गहिरो अध्ययन र विश्लेषणसहित मूल्याङ्कन गरेका छन्। यी समालोचना कृतिहरूमा सैद्धान्तिक आधार, व्यावहारिक समालोचना पद्धति, मूल्यनिर्णयको सिद्धान्त, प्रायोगिक विविध प्रविधि, शोध-अनुसन्धानात्मक प्रवृत्तिको सकेसम्म खोज गरी गहकिलो विमर्श गरिएको छ।

सिर्जनात्मक लेखनको परिप्रेक्ष्यमा समालोचना लेखन निकै जटिल, गुरुगम्भीर र उत्तरदायी कर्म बुझेका श्री प्रधान अवलोकन अवबोधनको सन्दर्भमा यसप्रकार लेख्छन्- ‘समालोचनालाई अङ्ग्रेजी साहित्यमा उच्च स्थानमा राखिएको छ। अङ्ग्रेजी साहित्य नै होइन तर समुच्चय प्रतिच्य प्रदेशमा समालोचकहरूको पूजा हुन्छ, सादर उनीहरूको अर्चना हुन्छ, शालिग निर्माण गरिन्छन् । त्यहाँ समालोचना विधालाई एक विज्ञानसम्मत कला, एक अपरिहार्य, व्यावहारिक र जन्मप्रदत्त वस्तु मानिन्छ। समालोचकहरू भनेको साहित्यका सुरक्षाकर्मी हुन्, अभिभावक हुन् भन्ने उच्च अवधारणा त्यहाँ सदैव रहेको छ। साहित्यमा विश्लेषण र निर्णयलाई एउटा कष्टसाध्य कार्य मानिएकोले हरेक विश्लेषक समालोचकको जटिल जाँच पड़ताल हुन्छ, नापतौल गरिन्छ अनि विश्वास निर्धारण हुन्छ। उनीहरू त्यसो र भन्छन्- हरेक समालोचक प्रतिभाशाली हुँदैन तर हरेक प्रतिभाशाली व्यक्ति भने समालोचक हुनसक्छ।

यता भारतीय नेपाली साहित्यमा बाँझोग्रस्त, खडेरीग्रस्त समालोचना विधामा यसरी कलिलै उमेरदेखि पदार्पण गर्ने साहसिक कार्य गरेर द्रष्टा राजकुमार छेत्रीले आफ्नो प्रतिभाको परिचय दिनुको साथै यस चुनौतीपूर्ण मार्गमा चुनौतीपूर्ण यात्राको शुभारम्भको शंखघोष गरेका छन्।’

नाट्य र व्यक्तित्वकेन्द्री समालोचना-

समालोचक प्रधानले अमला छेत्री सुब्बाको पाइलाहरू (गीतिनाटक कृति पाइलाहरू पहिल्याउँदै जाँदा), उषाकिरण सत्यदर्शीको मुक्तिबोध (नाट्यकृति मुक्तिबोध-मा उषाकिरण सत्यदर्शी-को सत्यदर्शन)-नाट्यकृतिबारे विस्तृत विवेचना गरिएको छ। श्रीमती अमला छेत्रीको गीतिनाट्य लेखनमा भेटिने नवीन गीतिनाट्यशिल्प, गीतिनाटकको संरचना-विधान, गीतितत्त्व र संवाद-योजनाको कलाकारिताबारे सङ्क्षेपमा भए पनि चाहिँदो प्रकाश पारिएको छ । यसैक्रममा नाटककार उषाकिरण सत्यदर्शीको नाट्यलेखनमा भेटिएका नवीन नाट्यशिल्प-संरचना, भाषिक-संयोजन तथा कथ्य-सम्प्रेषणबारे आफ्नो समालोचकीय दृष्टि प्रदान गरेका छन् । गीतिनाटक पाइलाहरूको विमर्श सन्दर्भमा समालोचक प्रधानकै शब्दहरू पैँचोलिएर भन्नु हो भने-‘कति पाइलाहरू-मा लोकतात्त्विक प्रकरणको गहनता अत्याधिक मात्रमा निहित हुनुको साथै प्रकृति, वनस्पति र जलमग्न नद-नदीको भरपूर विवरण बयान दर्ज गरिएकोले यसको समीक्षण मूल्याङ्कनमा अत्याधुनिक मानक रहनुपर्ने अपेक्षित हुँदैछ । आजको उत्तर-आधुनिक चेतले चर्को स्वरमा वकालत गरेको पर्यावरण लेखन (Eco-writing)-को अवधारणामा यस कृतिलाई बुझ्नुपर्ने र त्यतापट्टिबाट झनै बेसी संश्लेषण-विश्लेषण हुनुपर्ने देखिन्छ । लेखिकाले त आफ्नो तर्फबाट मोतीसरह एउटा कृति निर्माण गरी टिस्टा रङ्गीतको भेलमा हुत्याइदिएकी छन् । समयमा विद्वत पाठक, समीक्षकवर्ग, संवेदनशील स्रष्टा-द्रष्टाहरूले गभीर जलराशीमा गोता लगाउने नै छन् ।’

यसका साथै गोपीनारायण प्रधान (केही चिट्ठी र केही कृतिहरूमा गोपीनारायण प्रधान), के.बी.योगी (के.बी.योगीको सन्धानकृतिः योगी जातिको एक परिचिति), पूर्ण बान्तवा (पूर्ण बान्तवाको दीर्घकालीन साहित्य साधनाः एक विवेचना) प्रभृति सर्जकका दीर्घकालीन सहित्यसिर्जनाबारे परिचयात्मक कैरन प्रस्तुत गरेका छन्। भारतीय नेपाली भाषा-साहित्य, शिक्षा र समाजको सर्वाङ्गिन विकास हेतु उनीहरूले गरेका कार्यहरूको कदर गर्दै यथासक्य मूल्याङ्कन गर्ने प्रयत्न गरेका छन्। यसका अतिरिक्त समालोचक प्रधानले भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना, आधुनिक कवितामा राङभाङ भेल्लीका अग्रज त्रिधारा, हाम्रा मौन तपस्वीहरू अनि उनीहरूका कर्मवादी सिद्धी, चियाबारी मोफसलमा नवलेखनका केही धारहरू, खोलाचन्द फाप्रीमा पारसमणि प्रधानको सालिग हेर्न जाँदा शीर्षक लेखहरूमा पनि उनको समालोचनात्मक शिल्प र शैलीको प्रष्ट छाप भेटिन्छ। यी समालोचनात्मक लेखहरूमा समाज-सांस्कृतिक परिप्रेक्ष्य, युगीन सन्दर्भ, मानवतावादी दृष्टिकोणलाई समेत विमर्शनमा ल्याइएको छ।

अर्जुन प्रधानको समालोचनागत विशेषताः प्रवृत्तिगत रेखाङ्कन-

भारतीय नेपाली समालोचनालाई समृद्ध, गुरुगम्भीर, मूल्य निर्णायक, मूल्याङ्कनपरक साथै पाठकमैत्री बनाउन समालोचक अर्जुन प्रधानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। कविता, निबन्ध, अनुवाद र समालोचनाका कृतिहरू निरन्तर प्रकाशित छन्। सुरुमा प्रभाववादी प्रवृत्तिका समालोचनाबाट लेखन आरम्भ गरेका श्री प्रधान पछिल्ला चरणमा व्यावहारिक, प्रायोगिक, कृतिपरक, स्रष्टापरक, प्रवृत्तिपरक तथा मूल्याङ्कनपरक समालोचना लेखनमा सिद्धहस्त देखा पर्छन्। समालोचना लेखनमा अन्तर्विषयक र मूल्यनिर्णात्मक प्रवृत्तिको अवलम्बन, प्रभाववादी प्रवृत्ति भए पनि विषयको गहन विश्लेषणमा उनको विशेष अभिरूचि रहेको देखिन्छ। गहन अध्ययन, मनन, चिन्तनसहित तार्किक विश्लेषण तथा तुलनात्मक विश्लेषण पद्धतिमा लेख्ने हुनाले श्री प्रधानका समालोचनामा अध्ययनको फराकिलोपन भेटिन्छ। कृतिकेन्द्री वा कृतिपरक, व्यक्तिकेन्द्री वा व्यक्तिपरक, स्रष्टापरक, प्रायोगिक समालोचना लेख्नु यिनको प्रमुख वैशिष्ट्य हो। यस किसिमको उपयोगी र पाठकमैत्री समालोचना लेखेर भारतीय नेपाली समालोचना साहित्यमा उल्लेखनीय कार्य गरेका छन्।

अतः साहित्यालोचक अर्जुन प्रधानले दसवटा पुस्तककार समालोचनाकृतिका साथै धेरैवटा समालोचनात्मक भूमिकाहरू लेखेर नेपाली समालोचना फाँटमा यथेष्ट योगदान पुर्‍याएका छन्। समालोचक श्री प्रधानले आफ्नो लेखनमा स्पष्ट र परिमार्जित भाषाको प्रयोग, व्याख्यापरक विश्लेषण तथा सौन्दर्यमूलक दृष्टि, तार्किक विश्लेषण पद्धतिबाट विवेच्य कृतिको व्याख्या र विवेचना गरिएको पाइन्छ। उनको समालोचनामा विधागत रूपमा सबै विधाको गहिराइ पक्रेर गहन किसिमले कृतिको विश्लेषणात्मक मूल्याङ्कन गर्नु, सन्दर्भ स्पष्ट पार्न ऐतिहासिक र वस्तुसान्दर्भिक परिवेश खोतल्नु, साथै सामान्य रूपमा देखा पर्ने गुण र दोषको विवेचना गर्नु, नैतिकता र आदर्श दृष्टिकोण राख्नु, स्तरीय भाषाको प्रयोग गर्नु, पूर्वीय र पाश्चत्य समालोचनात्मक मानदण्डहरूलाई समूचित प्रयोग गर्नु, साहित्यिक कृतिको उच्च मूल्याङ्कन गर्नु, निबन्धमा समालोचना र समालोचनामा निबन्धको मिश्रित रूप देखाउनु, तर्कसम्मत शैलीले स्पष्ट भाषामा आफ्नो कुरो राख्नुमा अधिक अभिरूचि राखेको भेटिन्छ। समालोचक प्रधान कृतिपरक, व्यक्तित्वपरक वा स्रष्टापरक समालोचना लेख्ने मूलतः प्रभाववादी एवम् बौद्धिक समालोचक हुन्। यिनै कृतिगत आधारमा श्री प्रधानका समालोचकीय प्रवृत्ति र विशेषताहरूलाई निम्नलिखित बुँदाहरूमा यसप्रकार समेट्न सकिन्छ-

• समालोचक प्रधानका सुरुसुरुतिरका कतिपय समीक्षाहरू नितान्त निबन्धात्मक, सर्वेक्षणात्मक, परिचयात्मक तथा विवरणात्मक शैलीमा लेखिएका छन्। पछिल्ला समयमा लेखिएका समालोचनामा भने विश्लेषणात्मक, तुलनात्मक, व्यावहारिक, कृतिपरक, स्रष्टापरक, चिन्तनपरक, विवेचनात्मक, प्रायोगिक, खोजपरक, विधापरक मूल्याङ्कनपरक लेखनतिर बढ़ी अभिरूचि राखेको देखिन्छ।
• प्रधानको समालोचनामा सर्जकको कृतिगत मूल्यनिरूपणका साथै विवेच्य कृति वा विषयको ऐतिहासिक परिप्रेक्ष्य तथा कृतिगत गुणात्मक मूल्यको खोजी गरिएको पाइन्छ। यसका साथै समालोचनामा ऐतिहासिक तथ्यहरू र शोध-खोजपरक प्रवृत्ति, सर्वेक्षणात्मक, विश्लेषणात्मक र तुलनात्मक प्रवृत्तिको सन्तुलित उपस्थिति रहेको पाइन्छ।
• प्रधानको समालोचना लेखनमा विशेषगरी कृतिगत र विषयगत सर्वेक्षणमूलक प्रवृत्ति देखिन्छ। लेखनमा वस्तुपरक भाषाको प्रयोगमा भन्दा आत्मगत भाषाको प्रयोगमा अधिक अभिरुचि रहेको देखिन्छ। यसका साथै भाषा र साहित्यबीचको अन्तर्सम्बन्धको गहिरो अध्ययन तथा सर्जकको जीवनी र समाजसित सह-सम्बन्धको गहन अध्ययनमा पनि विशेष झुकाउ रहेको देखिन्छ।
• समालोचक प्रधानले आफ्ना अग्रज-अनुज र समकालीन लेखक-कविहरूका जीवनीका विविध आयाम, व्यक्तित्व र कृतित्त्वको सापेक्षतामा कृतिपरक र स्रष्टापरक समालोचना लेखनतिर अभिरूचि राखेको देखिन्छ। उनको समालोचनामा कृति र लेखकीय दर्शनको सापेक्षतामा कृतिगत मूल्यनिरूपण गरिएको पाइन्छ।
• समालोचक प्रधानले इतिहास सापेक्ष र इतिहास निरपेक्ष शैलीका समीक्षा लेखनमा विशेष चासो देखाएका हुनाले पाश्चात्य साहित्य सिद्धान्तको परिप्रेक्ष्यमा जतिसक्दो नेपाली समालोचनालाई सम्पन्न र समसामयिक बनाउने ध्याउन्नमा निरन्तर आफ्नो कलम घोटेका छन्।
• समालोचक प्रधानको समालोचना लेखनमा बढी सूचनात्मकता, वस्तुपरक शैलीभन्दा आत्मपरक शैलीतिर बढी झुकाउ रहेको प्रष्ट देखिन्छ। यसको साथै आफ्नो विचार र विषयवस्तुको प्रस्तुतिकरणमा तटस्थता एवम् सरलता मुख्य रूपमा पाइन्छ।
• समालोचक प्रधानमा विवेच्य कृतिको अन्तर्वस्तुको सूक्ष्मतालाई गहन रूपमा निर्क्योल गर्ने प्रवृत्तिको विकास पाइन्छ। यसका साथै लेखनमा मूल्याङ्कनात्मक प्रकृति तथा वैचारिक चेतनाको अन्तर्विकास पाइन्छ।
• कृतिकेन्द्री र व्यक्तिकेन्द्री तथा व्यवहारिक प्रकृतिको समालोचना लेखेर समालोचक प्रधानले विवेच्य कृतिको सूक्ष्म, अतिसूक्ष्म अध्ययन र मूल्याङ्कनमा विशेष जोड़ दिएका छन्।
• पाश्चात्य साहित्य सिद्धान्तका आधारमा विवेच्य कृतिको विवेचना गर्नु, व्यावहारिक समालोचना लेख्नु तथा निर्णयात्मकता र मूल्याङ्कनपरकतामा बढी महत्त्व दिनु उनको समालोचनागत विशेषता रहेको देखिन्छ।

Author’s Introduction:
डा. राजकुमार छेत्री
जन्म- २४ मई, सन् १९७३, नागरी चियाबारी, अरेञ्ज भिल्‍ला, दार्जीलिङ ।
माता- श्रीमती मनमाया छेत्री
पिता- श्रीमान मनबहादुर छेत्री

शैक्षिक योग्यता- एम. ए.,एम. फिल.( प्रथम श्रेणी ), पिएच.डि. (नेपाली साहित्य)
पेसा-सम्प्रति- प्राध्यापन, सह-प्राध्यापक(Associate Professor), स्नातकोत्तर नेपाली विभाग,
दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ ।
प्रकाशित कृति – (१) सिर्जनाको समावलोकन (समालोचना सङ्ग्रह, सन् २००९)
(२) अवलोकन अवबोधन ( समालोचना सङ्ग्रह, सन् २०११)
(३) शिवकुमार राईका रचना सञ्चयन ( सम्पादन, सन् २०१२)
(४) कृति आलोकन ( समालोचना सङ्ग्रह, सन् २०१३)
(५) दृष्टिपथ (समालोचना, सन् २०१८)
(६) अक्षरहरूमा संवाद (साहित्यिक अन्तर्वार्ता सङ्ग्रह, सन् २०१८)
(७) पूर्ण राई (मनोग्राफ,भारतीय साहित्य निर्माता, सन् २०२१)

सम्पादन- सन्दर्भ (सन्-१९८९,साहित्यि पत्रिका,नागरी चियाबारी )
अर्किड ( सन् १९९३-९४, वार्षिक मुखपत्र, खरसाङ कलेज)
कञ्चनजङ्घा (सन् १९९५-९६, वार्षिक पत्रिका, उ.बं. वि.वि.)
साहित्य सन्देश ( सन् २००१-०२, त्रैमासिक साहित्यिक बुलेटिन,ने.वि, उ.बं.वि.वि.)
बाडुली (सन् २००६,२००७, सिलगढ़ी देवकोटा सङ्घ)
आजभोलि दैनिक ( सन् १९९७-९८, सह-सम्पादक, सिलगढ़ी)
पाइन्स एण्ड क्यामेलियाज ( सन् २००६,२००७,२००८,२००९,दार्जीलिङ सरकारी कलेज)
दियालो (सन् २००९, स्वर्ण जयन्ती अङ्क, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ)
चरित्र ( समालोचना अङ्क, २०१२, चरित्रप्रकाशन, कालेम्पोङ)
संलग्नता- नेपाली साहित्य सम्मेलन, दार्जीलिङ (पूर्व सह-सचिव, आजीवन सदस्य)
गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङ (आजीवन सदस्य )
गोर्खा जन पुस्तकालय, खरसाङ (आजीवन सदस्य)
शिवकुमार राई स्मृति अकादमी, खरसाङ (आजीवन सदस्य)
सिलगढ़ी देवकोटा सङ्घ, सिलगढ़ी (आजीवन सदस्य)

पुरस्कार- (१) पश्‍चिम सिक्‍किम साहित्य प्रकाशनबाट स्रष्टा पुरस्कार (निबन्ध विधामा, वर्ष २००८)
(२) श्री बलिदास बस्नेत स्मृति साहित्यिक पुरस्कार (कृति आलोकन-को निम्ति सन् २०१५

साभार साहित्यपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here