जीतपुर,नेपाली सेनाको श्री नम्बर २८ बाहिनी अड्डा जीतपुरमा सञ्चालन भएको सैन्य आधार तालिमको अन्तिम दलेल कवाज दीक्षान्त समारोह बुधबार एक समारोहबीच सम्पन्न भएको छ ।बाराको जितपुरसिमरा उपमहानगरको जितपुरमा रहेको बाहिनीको आयोजनामा भएको कार्यक्रममा तालिम प्राप्त गरी सेनामा नियुक्त पाएका १ सय ४३ जना सिपाहीहरुले परेड तथा मार्चपास प्रदर्शन गरेका थिए । बाहिनीका बाहिनीपति प्रमुख सहायक रथी सानुकाजी थापाको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनीहरुलाई सेवा र जिम्मेवारीको सपथ समेत गराइएको छ ।९ महिने तालिममा सिन्धुलीका भेषकुमार थापा सर्वोत्कृष्ट हुन सफल भएका थिए । कार्यक्रममा विएफ टि दौडतर्फ दिनेशबहादुर थिङ्ग, ५ किलो दौडतर्फ लालबहादुर कार्की, फायरिङ्गतर्फ दिपेन्द्र चौधरी, ड्रिलतर्फ छत्र रासकोटी, बाधापारतर्फ मनोजकुमार आले प्रथम भएका थिए । उनीहरुलाई प्रमुख अतिथि बाहिनिपति थापाले शुभकामना मन्तव्य दिदै मेडल तथा प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, पर्साका प्रजिअ उमेश ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरु, स्थानीय पालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यापारी, सेनाका अधिकृतहरु, तथा स्थानीय अभिवावकहरु लगायतको सहभागिता रहेको थियो ।


















