वीरगञ्ज । वीरगञ्जमा आइतवार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले मशाल जुलुस निकालेका छन् ।वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेवि सङ्घ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा मशाल जुलुस निकालेका हुन् ।विद्यार्थीहरूले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर बल प्रयोग गर्दा चार जना विद्यार्थी नेता घाइते भएका छन् । घाइते हुनेहरूमा अनेरास्ववियूका जिल्ला सचिव पवन यादव, अनेरास्ववियूकै क्याम्पस इकाई उपाध्यक्ष अरमान हासमी, नेवि सङ्घका बिट्टू पटेल र समाजवादी विद्यार्थी युनियनका हरि यादव रहेका छन् । उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको अनेरास्ववियूका वीरगञ्ज महानगर अध्यक्ष आसिफ अहमदले जानकारी दिनुभयो ।आइतवार बेलुकी वीरगञ्जको तीन स्थानबाट एकैसाथ निकालिएको मशाल जुलुस घण्टाघर चोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरी बल प्रयोग गरेको नेवि सङ्घ पर्साका सभापति रमेश यादवले बताउनुभयो ।ठाकुरराम बहुमुखी क्याम्पसको व्यवस्थापन सङ्कायको स्नातक तहको तेस्रो वर्षको परीक्षा त्रिभुवन विश्वविद्यालयले बाराको सिमरामा सारेपछि त्यसको विरोधमा पर्साका विद्यार्थी सङ्गठनहरूले आन्दोलन गर्दै आइरहेका छन् । ठाकुरराम क्याम्पसबाट अन्यत्र सारिएको परीक्षा केन्द्र फिर्ता ल्याउन माग गर्दै विद्यार्थी सङ्गठनहरूले एक हप्तादेखि ठाकुरराम क्याम्पस बन्द गराएका छन् ।यहीबीचमा परीक्षा केन्द्र सिमरामा सारिएपछि गत सोमवार त्यहाँ परिक्षा दिएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परि ठाकुरराम क्याम्पसमा अध्ययनरत विद्यार्थी विजय शर्माको मृत्यु भएपछि विद्यार्थीहरू थप आक्रोशित भएका छन् ।परीक्षा केन्द्र फिर्ता ल्याउनु पर्ने र दुर्घटनामा परि मृत्यु भएका विद्यार्थी शर्माको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दै आइतवार बेलुकी मशाल जुलुस निकालिएको नेवि सङ्घका सभापति यादवले बताउनुभयो । आफूहरूको माग पुरा नगरिए आन्दोलन अझ चर्काउँदै लग्ने चेतावनी पनि उहाँले दिनुभयो ।















