कलैया,बाराका व्यवसायीहरूले स्थानीय तहहरूले गैरकानुनी रूपमा कर उठाइरहेको भन्दै तत्काल यस्तो कार्य बन्द गर्न माग गरेका छन् ।यस विषयमा उनीहरूले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा उल्लेख गरिएको अनुसार, विभिन्न पालिकाहरूले राजमार्ग र सहायक राजमार्गमा विभिन्न शीर्षकका नाममा गैर कानुनी रूपमा कर असुली गरिरहेको भन्दै यस सम्बन्धमा उच्च अदालतमा मुद्दा परेको छ ।
उच्च अदालत वीरगञ्जले यसअघि नै अन्तिम आदेश जारी गरी गैर कानुनी कर असुली नगर्न निर्देशन दिएको भए पनि सो आदेशको अवहेलना गर्दै स्थानीय तहहरूले जबरजस्ती कर असुली गरिरहेको ज्ञापन पत्रमा जनाइएको छ । अदालतको आदेशको पालना गराउन र गैर कानुनी कर असुली बन्द गराउन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, र मधेस प्रदेश सरकारलाई समेत ज्ञापन पत्रको प्रतिलिपि पठाइएको छ ।
ज्ञापन पत्रमा दुर्गाप्रसाद दाहाल, ओमशंकरप्रसाद साह, रामचन्द्रप्रसाद, जुमादिन अन्सारी, शुभनारायण, शंकर श्रेष्ठ, सुवासप्रसाद साह, मिनबहादुर न्यौपाने, शुक्रबहादुर घले, नेमाजु शेष, घनश्याम चौहान, उमाकान्त चौधरी, र लक्ष्मण कँडेल लगायतका व्यवसायीहरूको हस्ताक्षर रहेको छ । उनीहरूले गैर कानुनी कर असुली तत्काल रोक्न र अदालतको निर्णय कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।