निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीले विजया दशमी, दिपावली र छठ पर्वको आवसरमा शुक्रवार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले आगामी निर्वाचनमा उम्मेदवारको मुख हेरेर नभइ एमाले पार्टीको सिद्धान्त, नीति तथा काम हेरेर मतदान गर्न कार्यकर्तासंग आग्रह गर्नुभयो । ‘उम्मेदवार जो भए पनि एमालेबाट आउने हो,उहाँले भन्नुभयो, कसैको मुख हेरेर नभइ पार्टीको नीति र सिद्धान्त हेरेर मतदान गर्नुपर्छ ।’ उहाँले यो निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट एमालेले जित्नै पर्ने बताउनुभयो ।
नेता पौडेलले दलीय व्यवस्थामा मुख्य कुरा पार्टी नै भएको बताउनुभयो । ‘व्यक्ति भनेको निमित्त मात्रै हो, उहाँले भन्नुभयो, कोही अलिकति राम्रा होलान, केही केही नराम्रा पनि होलान, तर सबैको आआफ्नै क्षमता र विशेषता हुन्छ ।’ उहाँले कसैको अनावश्यक आलोचना र खुट्टा तान्ने काम कसैले पनि गर्न नहुने बताउनुभो ।
पार्टी नगर कमिटीका अध्यक्ष एंव निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, सुदर्शन कोइराला, अन्जु नेपाली, जिल्ला कमिटी सदस्य दिलबहादुर लामा, लिलादेबी लामिछाने, रामकृष्ण घिमिरे लगायतले कार्यकर्ताहरुलाई शुभकामना दिनुभएको थियो । निजगढ ८ स्थित पार्टी प्यालेस तथा ब्यङ्गकुट हलमा भएको सो कार्यक्रमको संचालन नगर कमिटी सचिव तिलक घलानले गर्नुभएको थियो ।