बारा,भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बारा जिल्लाको ग्रामीण भेगमा घरेलु मदिराको कारोबार फस्टाएको छ । केही समय यता जिल्लाको सीमावर्ति गाउँबाट भारततर्फ घरेलु मदिराको तस्करी गर्ने क्रम बढेको छ ।

बाराको पचरौता, सिम्रौनगढ, महागढीमाई नगरपालिका र सुवर्ण, आदर्शकोतवाल र देवताल गाउँपालिकामा घरेलु मदिराको कारोबार फस्टाएको हो । यस क्षेत्रमा भारतमा तस्करी गर्ने उद्देश्यले दर्जनभन्दा बढी मदिर भट्टीहरु संचालनमा आएको भएपनि नियन्त्रणको लागि प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ । पचरौता नगरपालिकाको सीमावर्ती क्षेत्रबाट घरेलु तथा शिलबन्दी गरिएका मदिरा समेत भारततर्फ तस्करी भइरहेको बताइएको छ । गुलरिया बोर्डरबाट भारतर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले केही दिनअघि मदिरा सहित एकजना नेपाली र भारतीय युवकलाई पक्राउ गरेको थियो । पक्राउ परेका युवकले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्वीकार गरेका छन् । उनीहरूको साथबाट भारतीय प्रहरीले विदेशी ब्रान्डको सहित नेपालमैं उत्पादित शिलबन्दी तथा घरेलु मदिरा बरामद गरेको थियो ।

नेपाल प्रहरीसँग ‘सेटिङ’ मिलाएर भारततर्फ मदिरा तस्करी हँुने गरेको स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीको मिलिमतोमा मदिराको उत्पादन र तस्करी हुने गरेको बताइएको छ । यस क्षेत्रमाप्रहरीले नैं मदिरा तस्करीमा सघाउँदै आएको स्थानीय चन्द्रिका यादवले बताउनुभएको छ ।

भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिल देखि नैं मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो । बिहारमा मदिरा प्रतिबन्धित भएदेखि नै जिल्लाको सीमा क्षेत्रमा मदिराको उत्पादन र तस्करी बढेको छ ।

Leave a Reply