कलैया,बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वास्थित मिनदेव कृषि सहकारीले कृषि सामग्री संस्थानबाट अनुदानमा ल्याएको रसायनिक मलको कालोबजारी गरेको स्थानीयले आरोप लगाएका छन । गाउँमा किसानलाई धान खेतमा हाल्न रसायनिक मलको अभाव भइरहेको अवस्थामा संस्थाका अध्यक्ष प्रमोद जैसवालले अनुदानमा ल्याएको मल कालोबाजारी गरेर बेचेका हुन ।

गाउँका किसानलाई वितरण गर्न भनेर सहकारी संस्थामार्फत गत जेष्ठ महिनामा कृषि सामग्री संस्थानको कार्यालय कलैयाबाट ल्याएको ६२ बोरा डिएपी र १० बोरा पोटास मल स्थानीय किसानलाई वितरण नगरी अन्यत्रै लगेर बढी मूल्यमा बिक्री गरेको स्थानीय हमिद अन्सारीले बताउनुभयो । उहाँका अनुसार जैसवालले त्यसपछि पनि पटक पटक सामग्री संस्थाबाट मल ल्याएर कालोबाजारी गर्दै आएका छन । जैसवालले गाउँपालिकाका कर्मचारी र वडा समितिका सदस्यहरुको मिलिमतोमा रसायनिक मलका कालोबजारी गरेका हुन ।

जैसवालले ल्याएको रसायनिक मल किसानलाई वितरण नगरेको तर गाउँपालिकामा वितरण गरेको भन्ने देखाउन नक्कली भरपाई बनाएर पेस गरेको पाइएको पनि बताउनुभयो । ‘खोजबिन गर्दै जादा मल वितरण गरेको नक्कली भरपाइ बनाएर पालिकामा पेस गरेको पाइयो, उहाँले भन्नुभयो, मलमा कालोबजारी भएको थाहा पाएपछि कार्यालयमा पुगेर बुझ्दा नक्कली भरपाई बनाएर पेस गरेको पाइयो ।’

गाउँका ४२ जना किसानको नक्कली सहीछाप गरेको भरपाई बनाएर जैसवालले गाउँपालिका कार्यालयमा पेस गरेको पाइएको अन्सारीले बताउनुभयो । कृषि सामग्री संस्थाबाट मल आउदै गरेको र आएपछि वितरण गर्न भनेर किसानलाई झुक्याएर मल वितरण गरेको भरपाईमा सही छाप गर्न लगाएको पनि उहाँले बताउनुभयो । किसानलाई मल वितरण गरिएको भनिएको भरपाइको रोहबरमा वडा सदस्यहरुलाई पनि झुक्याए सही छाप गर्न लगाएको उहाँको भनाइ छ ।

मलमा कालोबजारी गर्ने मिनदेव सहकारीलाई कारबाही गरिनुपर्ने माग राखेर स्थानीय किसानले गाउँपालिका घेराउ गरेपछि पालिका अध्यक्ष जवाहिरप्रसाद साह र वडा अध्यक्ष राजिवप्रसाद गुप्ताको निर्देशनमा आदर्शकोतवालको चरित्र सहकारी संस्थामार्फत रसायनिक मल मगाउने निर्णय भएको भए पनि गाउँपालिकाका कर्मचारीहरुको मिलिमतोमा जैसवालकै सहकारी संस्थामार्फत मल ल्याएर अहिले पनि कालोबजारी हुने गरेको स्थानीयले बताएका छन ।

Leave a Reply