सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का पूर्ववडाध्यक्ष केदारनाथ बजगाईंसहित नेकपा माओवादी केन्द्रका नगर र वडाका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।जनकपुरमा आयोजित एमालेको मधेस प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्वजिल्ला कमिटी सदस्य बजगाईंसहित नेता कार्यकर्तालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । एमाले प्रवेश गर्नेमा नगर कमिटी सदस्य दुर्गाप्रसाद शिवाकोटी, बृजकिशोर महतो, वडा कमिटी उपाध्यक्ष नमराज श्रेष्ठ, वडाका सचिवालय सदस्य श्यामसुन्दर उप्रेतीलगायत रहेका छन् ।बजगाईं २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जीतपुरसिमरा वडा नम्बर १६ मा निर्वाचित हुनुभएको थियो भने गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा एमालेका हरिदेव खरेलसंग दुई मतको अन्तरले पराजित हुनुभएको थियो ।स्थानीय तह निर्वाचनपछि बजगाईंले माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नुभएको थियो । माओवादी केन्द्र परित्याग गरेसंगै उहाँ एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here